बौद्धधर्ममाथि मानमर्दन गर्ने टेलिभिजन कार्यक्रममाथि कारवाहीको माग

बोधी संवाददाता

काठमाडौं, असोज ८ । एपी वन टेलिभिजनको तमसोमा ज्योतिर्गमय नामक कार्यक्रममा प्रस्तुत गरेको सामाग्रीले समस्त बौद्धहरुको धार्मिक भावनामा खलल पुर्याएको तथा देशमा धार्मिक समन्वयमाथि आक्रमण गरेको भनेर नेपाल बौद्ध महासंघको नेतृत्वमा एक प्रतिनिधिमण्डलले आज प्रेसकाउन्सिलमा गएर त्यस कार्यक्रम सञ्चालकमाथि कारबाहीको माग गरेका छ ।
केही दिन यता एपी वन टेलिभिजनको तमसोमा ज्योतिर्गमय स्तम्भमा प्रस्तोता टीकाराम यात्रीले पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलालाई कुराकानीको सन्दर्भमा प्रसंगहिन प्रश्न राख्दै बोल्न लगाएकोमा हामी बौद्ध धर्मावलम्बीहरुलाई आश्चर्यचकित बनाएको उक्त पत्रमा उल्लेखित छ ।

उक्त पत्र अनुसार उक्त कार्यक्रमको सामाग्री पत्रकार आचार संहिता २०७३ अनुसार पत्रकार र सञ्चार माध्यमले गर्न नहुने बुँदा (५) बमोजिम पत्रकार र सञ्चार माध्यमले देहाय अनुसार कार्यहरु गर्नुहुँदैन शीर्षकको (१) र (२) सिधै आकर्षित हुन्छ ।
प्रतिनिधि पण्डलले उक्त कार्यक्रमले धार्मिक भेदभाव वा घृणा उत्पन्न गर्ने गरी सामाग्री उत्पादन गर्नु नहुने व्यवस्थाको पनि घोर उल्लंघन गरेको बताएको छ । “एपी वान टेलिभिजनले बौद्ध धर्म र त्यससँग सम्बनिध्त शान्तिपूर्ण क्रियाकलापमाथि तत्यहीन कपोलकल्पित भ्रामक दुष्प्रचार गरी भ्रम छरेको छ । यसले बौद्ध धर्ममाथि नै मानमर्दन भएको छ । तसर्थ कार्यक्रमका प्रस्तोता टीकाराम यात्री र अन्तर्वार्ता दिने पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौला दुबैलाई हदैसम्मको कारवादीको भागिदार बनाउनु निष्पक्ष पत्रकारिताको मान्यता हुनेछ ।”

 

काउन्सिलले यस्ता अस्वस्था गैरजिम्मेवार गैर उत्तरदायी पत्रकारिताको नियमन गर्न नसक्ने हो भने त्यसले ल्याउने परिणामको जिम्मेवार पनि काउन्सिल नै हुनेछ भन्ने हाम्रौ धारणा बन्ने निश्चित भएको पनि उक्त पत्रमा उल्लेख गरिएको छ ।
उक्त प्रतिनिधि मण्डलमा सहभागी महासंघका सल्लाहकार जिग्दोल लामाले यस पत्रलाई काउन्सिलका पदाधिकारीहरुले सकारात्मक रुपमा लिएको र चाँडै स्पष्टीकरण माग्ने तथा स्पष्टीकरण चित्तबुझ्दो नभएमा कारबाही बढाउने आश्वासन दिएको बताउनुभएको छ ।

3 months ago/Sunday, September 24th, 2017 /