बाेधि समाचार, २८ श्रावण, काठमाडाैं
स्वयम्भुको किमडोल स्थित श्रद्धेय धम्मविजया गुरुमां प्रमुख रहनुभएको निर्वाणमुर्ति विहारमा परियत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार नेपाल बौद्ध परियत्ति शिक्षामा निर्वाणमुर्ति विहार केन्द्रबाट २०७९ सालमा उत्तिर्ण भएका बिद्यार्थीहरुलाई स–सम्मान सहित पुरस्कार बितरण गरिएको हो ।
कार्यक्रममा उपस्थित उपासक–उपासिका तथा श्रद्धेय भन्तेबाट सामूहिक बुद्धपुजा भएको थियो । कार्यक्रममा विहार प्रमुख श्रद्धेय धम्मविजया गुरुमांले परियत्ति शिक्षा मानव जिवनमा नभई नहुने शिक्षा भएको बताउनुभयो । यसैगरी गुरुमांले परिक्षामा उत्तिर्ण भएर मात्रै नभएर परियत्ति शिक्षालाई जिवनमा उतार्न आवश्यक रहेको बताउनुभयोे । आफ्नो जिवनमा आएको परिवर्तनबारे आ–आफनो मन्तब्य राख्ने क्रममा सिजु तुलाधरले जीवन सफल पार्नको लागी परियत्ति शिक्षा एउटा मार्गदर्शन भएकोे बताउनुभयो । उहाँले परियत्ति शिक्षा अध्ययन गरिरहने क्रममा आफुलाई नैतिक शिक्षा प्रदान गर्न, पञ्चशीलको आचरण गराउन र दैनिक व्यवहारमा समेत परिवर्तन ल्याउनमा सहयोग गरेको बताउनुभयो । उहाँले परियत्ति शिक्षाले आफुमा मात्रै नभएर आफनो सिङ्गो परिवारमा नै परिवर्तन आएको बताउनुभयो । सो कार्यक्रममा विभिन्न विहारका श्रद्धेय भन्ते, गुरुमां, विहार आवासिय गुरुमांहरु बिद्यार्थी, अभिभावक लगायत श्रद्धावान उपासक–उपासिकाहरुको सहभागिता रहेको थियो ।
२०७२ सालबाट निर्वाण मुर्ति विहारमा परियत्ति शिक्षाको स्थापना भएसंगै परियत्ति शिक्षामा उत्तिर्ण भएका बिद्यार्थीहरुलाई परियत्ति पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको यो सातौ पटकको कार्यक्रम हो ।