भगवान गौतमवुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीको रामग्राम ७ उजैनिस्थित रामग्राम स्तूपको उत्खननमा बुद्वविहारको भग्नावशेष भेटिएको छ । गत नोभेम्बर १ तारिखदेखि विज्ञहरूको टोलीले सुरू गरेको उत्खननको क्रममा रामग्राम स्तुपको उत्तर पश्चिमतर्फ प्राचिन विहारका भग्नावशेष र पोखरी फेला परेको बताएका छन । रामग्राममा अस्थिधातु रहेको बौद्ध ग्रन्थहरूमा लेखिए पनि बास्तविक रामग्राम कहाँ हो भन्ने पुष्टि भएको छैन । हालको उत्खननबाट रामग्राम पुष्टि हुने संकेत भेटिएको पुरातत्वविद्हरूले बताएका छन ्। स्तूपाको खोजी गर्दै लुम्बिनी विकास कोष, पुरातत्व विभाग, युनेस्कोले रामग्रामको उत्खनन गरिरहेका छन् । उत्खननमा दुह्राम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रोफेसर तथा विद्यार्थीहरूले सहयोग गरिरहेका छन ्। रामग्राम स्तूपको उत्तर पश्चिमपट्टी गरिएको उत्खननबाट प्राचीन बिहारका भग्नावशेष र पोखरी भेटिएको उत्खननकर्ताले जानकारी गराएका छन । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले रामग्राममा प्राचीन विहारका भग्नाअवषेस पर्खाल, पोखरी र अन्य प्राचीन सामग्रीहरू फेला परेको जानकारी दिनुभयो । उहाले रामग्राम स्तूपको बारेमा हजारमिटरभन्दा बाहिरीको क्षेत्रमा पनि अनुसन्धान गर्नुपर्ने बताउनुभयो । साथै उहाले पण्डितपुरमा गरिएको भौगर्भिक सर्भेले जमिनमुनि प्राचीन सहर रहेको देखिएकोे बताउनुभयो । उहाले कोलिय राज्यको सहरका रूपमा पण्डितपुर हुनसक्ने आधारहरू देखा परेको बताउनुभयो । उत्खनन र भौगर्भिक सर्भेका बारेमा बेलायतको दुर्हाम विश्वविद्यालयका प्रा. डा. रविन कनिङघमले रामग्राम स्तूप निकै महत्वपूर्ण प्राचीन सम्पदा भएकाले यहाँको महत्व पुष्टिका लागि उत्खननले ठूलो सहयोग गर्ने बताउनुभयो । उहाले आफूहरू प्राविधिक रूपमा रामग्राम स्तूपका प्राचीन संरचनाहरू पत्ता लगाउने भए पनि यसको संरक्षण स्थानीयहरूले नै गर्नुपर्ने बताउनुभयो ।
यसैगरी रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुद्धको अस्थिधातु रहेको रामग्राममा सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षणको काम गर्नुपर्ने बताउनुभयो । उहाले अहिले भएको उत्खननबाट फेला परेका प्राचीन अवशेष र संरचनाले उत्साही बनाएको बताउँदै यस्ता उत्खननको मात्रा बढाउनुपर्ने बताउनुभयो ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले रामग्राम स्तूपमा गरिएको भौगर्विक सर्भेमा देखिएको संरचनालाई अहिले गरिएको उत्खननले पुष्टि गरेको बताउनुभयो । उहाले बुद्वविहारका भग्नावशेष पर्खाल, पोखरी फेला परेकाले रामग्राम स्तूपको पुरातात्विक महत्व थप उजागर भएको बताउँदै लुम्बिनी विकास कोषले रामग्राम स्तूपको विकासलाई गति दिने गरी योजना बनाएको बताउनुभयो । उहाले रामग्राम स्तूप क्षेत्र कोषकै कार्यक्षेत्रभित्रमा पर्ने भएकाले यसको व्यवस्थापनका लागि स्थानीय स्तरमा उठेका सवाललाई सम्बोधन गर्नेसमेत प्रतिबद्धता जनाउनुभएको छ ।
यसैगरी रामग्राममा भेटिएका पुरातात्विक भग्नावेशष र वस्तुहरूको कालअवधि समय) पत्ता लगाउनका लागि यो पटकको उत्खननले सहयोग गर्ने लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले बताउनुभयो । रामग्राममा १९९७ सालमा छोटो अवधिको र सन् १९९८ देखि २००४ सम्म अलि लामो गरी दुई चरणमा उत्खनन भएको थियो। त्यसयता सन् २०२३ नोभेम्बर १ तारिखदेखि उत्खनन गरिएको हो ।