परम पावन ४१औं साक्या ठ्रीछेन रिन्पोछेज्युले अमितायुषको दीर्घायु अभिषेक प्रदान गर्नुभएकोछ । हजारौको संख्यामा उपस्थित सर्वधारणहरुलाई काठमाडौंको बौद्ध स्थित थार्लाम गुम्बामा शनिवार परम पावन रिन्पोछेले अमितायुषको दीर्घायु अभिषेक प्रदान गर्नुभएको हो । करिब दशहजार भन्दा बढी श्रद्धालु उपासक–उपासिकाहरुको भीडका कारण कार्यक्रम स्थलमा ढिलो गरि सावारी हुनुभएको परम पावन ४१औं साक्या ठ्रीछेन रिन्पोछेज्युलाई थार्लाम गुम्बाका आवसीय लामा गुरुहरुको, आनीहरु, उपस्थित उपासक उपसिकाहरुले भब्य स्वागत गरेका थिए ।
अमितायुषको दीर्घायु अभिषेक प्रदान गर्ने क्रममा परपावन ४१औं साक्या ठ्रीचेन रिन्पोछेले तेह्रौ शताब्धीमा तिब्बतमा जन्मनुभएका महासिद्ध थाङतोङ ग्याल्पोको जीवनीको बारेमा चर्चा गर्नुहुँदै थाङतोङ ग्याल्पोले लोक तथा जगतको हितार्थ गर्नु भएको विविध धार्मिक कार्यहरु तथा ऋद्धिहरुको बारेमा देशना गर्नुभएको थियो । परमपावन रिन्पोछेले गुरु रिन्पोछेको साधक तिब्बतका महासिद्ध गुरु थाङतोङ ग्याल्पोले पथ प्रदर्शन गर्नुभएको धेरै नीधिहरु मध्ये अमितायुषको दीर्घायु अभिषेक पनि एक रहेको बताउनु भयो ।
तिब्बती माहायान बज्रयान बौद्ध परम्परामा अति दुर्लभ अभिषेकहरु मध्ये अमितायुषको दिर्घायु अभिषेक पनि एक हो । अमुल्य मानव जिवनको प्राप्ति पछि पुनः मानव जीवन प्राप्त नहुन पनि सक्छ, त्यसैले यो अमुल्य मानव जीवनको सहि सदुपयोग गर्न तथा यो लोक, जगत हितार्थ बुद्धता प्राप्तिको लागि, धर्म अभ्यास गर्न मानव जीवनमामात्र संभव हुने भएकोले दीर्घायु हुन अनिवार्य छ । अटुट गुरु परम्पराका सिद्ध गुरुहरुबाट अमितायुषको दीर्घायु अभिषेक प्राप्त भएपछि सय बर्ष सम्म आयु लम्बिने हुनाले र लोक तथा जगतको हितको निमित बुद्धता प्राप्तिकोलागि धर्म अभ्यास गर्ने अवसर प्राप्त हुने विश्वास गरिन्छ । त्यसैले परम पावन ४१औं साक्या ठ्रीछेन रिन्पोछे जस्ता सिद्ध गुरुबाट अमितायुषको दीर्घायु अभिषेक ग्रहण गर्न पाउनु पनि अति दुर्लभ मानिन्छ ।
हिमाली बज्रयान तथा महायान बौद्ध परम्पराका अति उच्चतम गुरुहरु मध्ये एक गुरु परम पावन ४१औं साक्या ठ्रीछेन रिन्पोछेज्यू भगवान बुद्धको जन्म भूमि नेपालमा पाल्नु भएर रिन्पोछे समुपस्थित विविध धार्मिक कार्यक्रमहरुमा सहभागी हुनु पाउनु हामी नेपालीहरुको लागि ठुलो सौभाग्य कुरा हो । परम पावन रिन्पोछेको नेपाल बसाइ अवधिभर विविध धार्मिक कार्यक्रम अन्तरगत शनिवार अमितायुषको दिर्घायु अभिषेक प्रदान भएको हो । परप पावन रिन्पोछेको पुर्व निर्धारित धर्मिक कार्यतालिका अनुसार आविश्न आविश्न २१ गते आइतवार नारायणनाथ स्थित जाम्छेन ल्हाखाङ स्तुपाको भ्रमण गर्ने कार्यक्रम रहेकोछ । त्यसै गरि असोज २७ गते तदनुसार अक्टोवर १४ तारिख शनिवारका दिन परमपावन ४१ औं साक्याठ्रीछेन रिन्पोछेज्युबाट महाकरुणामय अर्यावलोकितेश्वरको महाभिषेक (वाङ्छेन) प्रदान हुने कार्यक्रम रहेको छ । यो अति दुर्लभ कार्यक्रममा सहभागी भई पुण्य संभार गर्नुहुन प्रमुख आयोजक व्योम कुसुमा बुद्र्धधर्म संघले आह्वान गरेको छ । हाल सम्म यो महाअभिषेक वाङ्छेन कार्यक्रममा ५० हजार भन्दा बढी सर्वसाधारणहरुले नामावली दर्ता गरिसकेको आयोजक समिति जनाएको छ । असोज २७ गते हुने महाकरुणामय अर्यावलोकितेश्वरको महाभिषेक (वाङ्छेन) कार्यक्रम नेपालको एक मात्र बौद्ध टेलिभिजन बोधि टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । भौतिक रुपमा सहभागी हुन नसक्नुहुने श्रद्धालुहरुले बोधि टेलिभिजनको प्रत्यक्ष प्रसारण मार्फत अभिषेक प्राप्त गरी पुण्य लाभ गर्न सक्नुहुने छ ।