करूणा शर्मा, काठमाडाैं
करिब करिब साउने झरी सकिनै लागेको छ । खुल्ला निलो आकाशमा सकिनै लागेको झरिका केहि थुप्रा कालो बादल देखिए पनि एकैछिनमा हावामा विलाएर सेतो कपास जस्तै देखिने दृश्यमा परिणत हुने ती बादलका थुप्राहरुले यो समयको रौनक नै बदलिदिएको छ । अझै बर्षा को बिदाई र सरद्को आगमन अनि नेवाः बस्तीबाट एकै विहान बाजासहित श्रद्धावान उपासक उपासिकाहरुको लामालस्करले सजिलै बुझिन्छ, यो रौनक गुँला पर्वको हो ।
यो पर्व बौद्ध धर्ममा आधारित रहेर नेवाः समुदायले मनाउने गर्दछन । नेवाः समुदायको पनि विशेषगरी शाक्य, बज्राचार्य र मानन्धरहरूले यो पर्व मनाउने गर्छन् । बर्खाका बेलामा भगवान् गौतम बुद्ध र उनका शिष्यहरू ज्ञानको प्रचारका लागि निस्कँदैनथे । सो स्वरुप अहिले पनि बुद्ध धर्मालम्बीहरू यस बेलामा एकै स्थानमा बसेर श्रद्धेय भन्ते, गुरुमां, गुरुजुबाट धर्मदेशना श्रवण गर्ने गर्दछन् । त्यसैले यस पर्वलाई ज्ञान दिने र लिने स्वर्णिम अवसरका रूपमा पनि लिईन्छ । नेपाल संवतका कछला, थिंला, पोहेला, सिल्ला, चिल्ला, चौला, बछला, तछला, दिल्ला, गुँला, ञला, कौला महिनाहरू हुन्छन् । विक्रम संवतको श्रावण–भाद्रमा पर्ने गुँला महिना श्रावण शुक्ल पक्षको प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म पर्छ । नेवाः बस्तीमा श्रावण शुक्ल प्रतिपदादेखि गुँला संगीतको ध्वनि सुनिन्छ । गुँलापर्वको अवसरमा विशेष गरी धाः बाजा बजाउने गरिन्छ । पछिल्लो समय बाँसुरी, धिमे, भुुस्या, र न्याकु बाजा पनि बजाउने गरीएको छ । यो पर्वका समयमा श्रद्धावान उपासक उपासिकाहरु प्रत्येक दिन नुहाउने र सफा वस्त्र लगाएर विहार,बहाःबहि, चैत्यमा पुगी बाजागाजासहित परिक्रमा गर्दछन् । बिशेषगरी यो पर्वमा श्रद्धावान उपासक उपासिकाहरुले काठमाडौं उपत्यकामा अवस्थित र स्वयम्भुमहाचैत्यको परिक्रमा गर्ने र चैत्य ब्रत बसी पुजा गर्ने गर्दछन । । यसरी घुम्दा र चैत्य ब्रत बसी पूजा गर्दा आफ्ना दिवंगत आफन्तहरुको सुखावती भुवनमा बास होस कामना गरिन्छ । साथै बौद्धस्थलमा घुम्नाले एक आपसमा सद्भाव, मनमा शान्ति र पारिवारिक सुख अभिवृद्धि हुने जनविश्वास छ । यस पर्वमा भगवान गौतम बुद्धद्वारा प्रतिपादन गरिएको दशशील, अष्टशील र पञ्चशील पालना गरी मनाउने भएका कारण यो पर्व मानव जीवनलाई राम्रो गर्ने पर्वको रुपमा पनि परिचीत छ । यो महिना अवधिभर आफ्नो क्षमता अनुसार भित्री मनदेखि स्वच्छ दान दिने गरिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । गुँलापर्व कहिलेबाट सुरु भएको भन्ने एकिन छैन । भाषा बंशावलीका अनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो पर्व चलाएका थिए भन्ने उल्लेख छ ।