५०० श्रामणेर प्रवज्या सम्पन्न

img

काठमाडौं,
बुद्ध धर्मप्रति श्रद्धा, आपसी एकता र आध्यात्मिक चेतनाको अभिवृद्धि गर्ने विश्वासका साथ भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा ५०० श्रामणेर प्रवज्या सम्पन्न हुने भएको छ। अखिल नेपाल भिक्षु महासंघ तथा थाई धर्मदूत ९इण्डिया–नेपाल० को संयुक्त आयोजनामा उक्त कार्यक्रम आगामी फागुन २६ गतेदेखि सुरु हुने भएको हो।
कार्यक्रमको मुख्य उद्देश्य बुद्ध धर्मप्रतिको श्रद्धा अभिवृद्धि गर्नुका साथै आध्यात्मिक पुनर्जागरण र विश्वव्यापी बौद्ध एकताको सशक्त सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएका छन्। प्रवज्या कार्यक्रमलाई बुद्ध धर्मको मूल शिक्षातर्फ फर्कने, त्याग, शील र समाधिको अभ्यास गर्ने तथा मानव जीवनलाई करुणा, मैत्री र परोपकारमार्फत शुद्ध बनाउने महत्वपूर्ण अवसरको रूपमा लिइएको छ। उक्त कार्यक्रम आगामी चैत्र १७ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा धार्मिक अनुष्ठान, ध्यान अभ्यास, धर्मदेशना तथा सामूहिक साधनाका कार्यक्रमहरू समेत सञ्चालन गरिनेछन्। कार्यक्रममा सहभागी भई सेवा गर्न, स्वयंसेवक बन्न तथा पुण्य कार्यमा अनुमोदना जनाउन आयोजकले सबै धर्मप्रेमी, श्रद्धालु तथा सर्वसाधारणलाई हार्दिक आह्वान गरेको छ।
प्रवज्या कार्यक्रम केवल धार्मिक विधिमा सीमित नभई बुद्ध धर्मको आध्यात्मिक मूलतर्फ फर्कने जीवन्त अवसर एवम् मार्ग भएकाले यसले बौद्ध धर्मको प्रचार–प्रसार, युवा पुस्तामा नैतिक मूल्यको विकास तथा विश्व शान्तिको सन्देश प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। यस अर्थमा, उक्त कार्यक्रम बौद्ध इतिहासमा एक स्मरणीय र प्रेरणादायी अध्याय बन्ने अपेक्षा गरिएको छ।