काठमाडौं,
बुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित टाशी राप्तेन लिङ शाक्य गोन्पामा आयोजित हेवज्र पूजा जारी छ। परमपूज्य २७औँ चोग्य ठ्रिचेन पल्जोर रिन्पोछेको उपस्थितिमा हेवज्र पूजाको आयोजना गरिएको हो। सन् २००७ सालदेखि उक्त गुम्बामा हेवज्र पूजाको आयोजना हुँदै आइरहेको छ।
गुम्बामा गरिने विभिन्न महापूजामध्ये हेवज्र पूजा एक विशेष तथा अत्यन्त महत्वपूर्ण पूजा हो। विश्वमा शान्ति फैलाउनुका साथै दिवंगत चोग्य ठ्रिचेन रिन्पोछेको टुल्कुको निर्माणकार्य यस धर्तीमा शीघ्र अवतरण होस् भन्ने कामनासहित हेवज्र पूजाको आयोजना गरिएको हो। हेवज्रलाई तिब्बती महायान बज्रयान बौद्ध धर्ममा एक महत्वपूर्ण ध्यानात्मक देवताका रूपमा लिने गरिन्छ। हेवज्र तन्त्रलाई प्रज्ञा र करुणाको एकताको प्रतीकका रूपमा व्याख्या गरिन्छ। हेवज्रलाई नील वर्णका रूपमा चित्रण गरिन्छ भने अज्ञानलाई पराजित गरी ज्ञान प्राप्त गर्ने रूपान्तरणकारी शक्तिको अभिव्यक्ति गर्ने देवताका रूपमा मानिन्छ। विशेषतः महायान बज्रयानका चार मुख्य परम्परामध्ये साक्य परम्परामा हेवज्रलाई उच्चतम योग तन्त्र अभ्यासका रूपमा लिने गरिएको छ। हेवज्र आफ्ना सहयोगी नैरात्मासँग आलिङ्गन मुद्रामा अवस्थित देखिन्छन्।