काठमाडौं,
बौद्ध धर्ममा दानलाई विशेष महत्वका रूपमा हेरिने गरिएको छ। जसमध्ये संघदान एक विशेष तथा महत्वपूर्ण दान हो। बौद्ध धर्ममा बुद्ध, धर्म र संघलाई त्रिरत्नका रूपमा लिइन्छ। त्यसकारण बौद्ध धर्ममा संघ र संघदानको विशेष महत्व रहेको हुन्छ। यसै महत्वलाई मध्यनजर गर्दै स्वयम्भू किमडोलस्थित निर्वाण मूर्ति विहारमा संघदान गरिएको छ।
विहार प्रमुख श्रद्धेय डा. धम्मविजया गुरुमांको सदिक्षा अनुरूप सो विहारमा हरेक महिनाको सात गते श्रद्धेय भिक्षुसंघलाई निमन्त्रणा गरी संघदान हुँदै आइरहेको छ। यसैक्रममा माघ सात गते बुधबार आनन्दकुटी विहारका श्रद्धेय भिक्षुहरूलाई निमन्त्रणा गरी संघदान गरिएको छ। सो अवसरमा श्रद्धेय भिक्षुबाट शील प्रदानका साथै बुद्ध पूजा सम्पन्न भई संघदानको महत्वबारे धर्मदेशना भएको छ। आनन्दकुटी विहारका श्रद्धेय भिक्षु एवम् विहारका आवासीय श्रद्धेय गुरुमांहरूको उपस्थिति रहेको कार्यक्रममा धर्मदेशना पश्चात श्रद्धेय भिक्षुहरूलाई धर्मपूजा प्रदान गरिएको थियो। कार्यक्रममा दिवंगतहरूको सम्झनामा पुण्यानुमोदन गरिएको थियो। अन्त्यमा श्रद्धेय भिक्षु तथा गुरुमांहरूलाई उपासक–उपासिकाहरूद्वारा सामूहिक रूपमा दान प्रदान गरी कार्यक्रम समापन गरिएको थियो। संघका नियमहरू विनयपिटकमा सङ्ग्रहित छन्। अङ्गुत्तरनिकायको कालामसुत्तमा भगवान बुद्धले आफ्नै अनुभवका आधारमा धर्म पालना गर्ने स्वतन्त्रता दिनुभएको तथा धर्मका सानातिना नियमहरू परिवर्तन गर्न सकिने उपदेश दिनुभएको हुनाले बुद्धको महापरिनिर्वाण पश्चात बौद्ध धर्ममा विभिन्न बौद्ध निकायहरू स्थापित भए।
यस्ता निकायहरूमा विनयपिटकका नियमको पालना, स्थानीय सांस्कृतिक प्रभाव तथा धर्मका निश्चित पक्षमा बढी केन्द्रित हुनेलगायत विषयमा भिन्न मत पाइन्छ। संघमा नै आश्रित नभई बुद्ध धर्मलाई आध्यात्मिक रूपमा पालना गर्ने परम्परा पनि रहेको देखिन्छ। ऐतिहासिक कालमा विभिन्न निकाय तथा संघहरू रहे तापनि वर्तमान समयमा प्रायःजसो संघहरू तीन महासंघको प्रभावमा रहेको पाइन्छ। यी महासंघहरूमध्ये थेरवाद, महायान र बज्रयान रहेका छन् भने महायान र बज्रयानमा थेरवाद बौद्ध परम्परालाई जगका रूपमा लिने गरिएको छ।