काठमाडौं,
भगवान बुद्धका शिक्षालाई विद्यार्थीहरूले कसरी अनुसरण गर्ने र व्यवहारमा उतार्ने भन्ने बारे जानकारी दिने उद्देश्यले विन्टर क्याम्पको आयोजना गरिएको छ। भगवान बुद्धका शिक्षा तथा बुद्धले बताउनुभएको विनयलाई अनुसरण गरी कसरी व्यवहारमा उतार्ने भन्ने बारे जानकारी दिने उद्देश्यले विश्व बौद्ध संघ धर्मदूत समितिद्वारा बुद्ध जन्मस्थल लुम्बिनीमा विन्टर क्याम्पको आयोजना गरिएको हो।
तीन दिनसम्म सञ्चालन हुने सो क्याम्पमा श्रद्धेय भिक्षु मिङ हुवाङ, किरण शाक्य, एलटिडीका सदस्य–सचिव दीपक शाक्य, विश्व बौद्ध संघका उपाध्यक्ष पद्म ज्योति, वाईएमबीयूका अध्यक्ष आशारत्न शाक्य, साथै वाईएमबीयूका उपाध्यक्ष सनम् शाक्यसहित १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको छ। विशेषगरी सहभागी विद्यार्थीहरूलाई बोधिसत्त्व मार्गका दुई स्तम्भ—करुणा र प्रज्ञाका बारेमा जानकारी प्रदान गरिनेछ। बौद्ध धर्ममा करुणा र प्रज्ञालाई एक–अर्काका परिपूरक मानिन्छ। करुणाको अर्थ केवल सहानुभूति मात्र नभई अरूको पीडालाई गहिरोसँग अनुभूति गरी त्यसलाई हटाउने अटल संकल्पका रूपमा लिइन्छ। यसैगरी प्रज्ञा भनेको यस संसारको वास्तविक स्वरूपलाई जस्ताको तस्तै देख्ने विवेक हो। विशेष गरी अनित्यता र शून्यता जस्ता सत्यहरूलाई बुझ्ने क्षमता नै प्रज्ञा हो।
विश्व बौद्ध संघको गत महिना बैंककमा सम्पन्न वर्ल्ड बुद्धिस्ट कन्फ्रेन्समा विश्व बौद्ध संघ धर्मदूतको पहिलो कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा गर्ने सम्झौता भएबमोजिम लुम्बिनीमा तीनदिने विन्टर क्याम्पको आयोजना गरिएको हो। कार्यक्रम जनवरी २३ अर्थात् शुक्रबारसम्म सञ्चालन हुनेछ।