काठमाडौं,
तामाङ समुदायले नयाँ वर्षको आरम्भको उपलक्ष्यमा सोनाम ल्होसार मनाएका छन्। ‘ल्हो’ को शाब्दिक अर्थ वर्ष वा उमेर हुन्छ भने ‘सार’ को अर्थ नयाँ वा ताजा हुन्छ। तसर्थ, ल्होसार शब्दको शाब्दिक अर्थ नयाँ वर्ष वा नयाँ युगको सुरुवात भन्ने हुन्छ। तामाङ समुदायले मनाउने सोनाम ल्होसार पर्व विक्रम संवत् क्यालेन्डर अनुसार माघ शुक्ल प्रतिपदाका दिन मनाउने गरिन्छ।
यस वर्षको ल्होसारलाई तामाङ समुदायले मञ्जुश्री संवत् २८६२ औँ सोनाम ल्होसार भन्ने गर्छन्। यस वर्ष ता–ल्हो अर्थात् घोडा वर्षको स्वागत गर्दै ल्होसार मनाइएको छ। यस अवसरमा बौद्धनाथ विकास समितिका निर्देशक मोहन तामाङले शुभकामना सन्देश दिँदै प्रत्येक वर्ष मनाइने सोनाम ल्होसारले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परालाई जनाउने उल्लेख गर्नुभएको छ। सोनाम ल्होसारको अवसरमा कुलपूजा, पितृपूजा तथा प्रकृतिको पूजा गर्ने र छोरीचेलीहरूलाई निम्त्याएर टीका लगाइदिने प्रचलन रहेको छ। त्यस्तै घर, गाउँ र बस्तीहरू सफा गरी बुद्धका चित्र अंकित ध्वजापताकाहरू टाँगेर भगवान बुद्धको पूजा गर्ने गरिन्छ। यस अवसरमा काठमाडौंमा रहेका तामाङ समुदायले टुँडिखेलमा आफन्तजन र इष्टमित्रहरूसँग भेला भई मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दै शुभकामना आदानप्रदान गरेर ल्होसार मनाएका छन्।