आर्य तारा पूजा सम्पन्न

img

काठमाडौं,
ललितपुरको ज्याठाबहालस्थित पद्म वर्ण महायान विहारमा हरेक महिनाको एक गते नियमित रूपमा हुँदै आइरहेको आर्य तारा पूजा सम्पन्न भएको छ। पाटनको ज्याठाबहालस्थित पद्म वर्ण महायान विहारमा हरेक महिनाको १ गते आर्य तारा पूजा हुँदै आइरहेको छ। सोही क्रममा माघ १ गते बिहीबार महाविहारका अध्यक्ष श्रद्धेय लामा गुणसागरको समुपस्थितिमा तारा पूजा सम्पन्न गरिएको हो। 
महिनामा एक पटक मात्र आर्य तारा पूजा गर्न सकेमा जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाधान हुने र मानव जीवनमा आइपर्ने विभिन्न बाधा–अड्चनहरू सहज रूपमा हटेर जाने विश्वास रहेकाले आर्य तारा पूजाको विशेष महत्व रहेको छ। बिहानको समयमा सम्पन्न उक्त पूजामा आनिहरू, लामाहरू तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो। आर्य तारा पूजा गर्नाले निरोगी हुने र आत्मसन्तुष्टि बढ्ने विश्वासका कारण आर्य तारा पूजाप्रति उपासक–उपासिकाहरूको ठूलो आस्था र विश्वास रहेको छ। यसैगरी तारा पूजाको अन्त्यमा च्वेद् अर्थात् डमरु पूजा पनि गरिएको थियो। अज्ञानको अन्धकार हटाई प्रज्ञाको विकास गर्न सहयोग पुग्ने विश्वासका कारण महायान बौद्ध परम्परामा च्वेद् पूजाको विशेष महत्व रहेको छ। साथै, च्वेद् पूजा गर्दा चित्तलाई एकाग्र र शुद्ध बनाउने विश्वास रहिआएको छ। त्यसकारण च्वेद् पूजालाई करुणा र मैत्रीभाव जगाउने विधिका रूपमा पनि लिने गरिन्छ।