काठमाडौं,
पाटनको नकबहिल न्याखाचोकमा एक सय वर्षपछि लसता सम्यक् महादानको आयोजना गरिएको छ। श्री लामा आजु दिपंकर गुठीको आयोजनामा बिहीबार सम्यक महादान सम्पन्न गरिएको हो। महादानका अवसरमा पाटनका विभिन्न विहारहरूबाट दिपंकर तथागत, बुद्ध, तारा र बसुन्धराका मूर्तिहरू चोभार, कीर्तिपुर, इतुम्बहाल, भक्तपुर लगायतका स्थानबाट ल्याइ १२७ देवदेवताहरूलाई एकै स्थानमा विराजमान गराई दान गरिएको छ।
सम्यक महादानका लागि विभिन्न स्थानबाट ल्याइएका देवीदेवताहरूलाई विधिपूर्वक विराजमान गराइसकेपछि क्रमअनुसार थायपा आजुहरू पञ्चदान लिन बस्ने परम्परा रहेको छ। तत्पश्चात रुमाल अगाडि राखी बज्राचार्य र शाक्यहरू क्रमशः दान लिन बस्ने प्रचलन रहेको छ। सो क्रममा श्रद्धालुहरूले आफ्नो गच्छेअनुसार चामल, दाल, केराउ, नुन, मास तथा दक्षिणा दान गर्ने गर्दछन्। नेपाल मण्डलमा बज्रयान बौद्ध परम्परा अनुसार गरिने दान दिपंकर बुद्धसँग सम्बन्धित रहेको छ। यसरी आयोजना हुने विशेष तीन प्रकारका दानहरूमा पञ्चदान, सम्यक महादान र नराँदान पर्दछन्। नेपाल मण्डलको बज्रयान बौद्ध समाजमा सम्यक महादानलाई एक विशेष र महान दान उत्सवका रूपमा लिइन्छ। पाटनमा सम्यक महादान पहिले वार्षिक रूपमा मनाइन्थ्यो तर हाल पाँच वर्षमा एकपटक मनाइन्छ भने अर्को वार्षिक रूपमा पनि आयोजना गरिन्छ। सोही परम्पराअनुसार एक सय वर्षपछि बिहीबार पाटनमा सम्यक महादान आयोजना गरिएको हो।