काठमाडौं,
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बुद्ध जन्मभूमि नेपालमा कसैले पनि दुःखको अनुभव गर्न नपरोस् भन्ने फाउन्डेसनका संस्थापक श्रद्धेय चंङयेन गुरुआमाको सदिच्छा अनुसार फाउन्डेसनले मंगलबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । निःशुल्क शिविरमा बिरामीहरूको आकर्षण बढ्दो छ ।
त्यस अवसरमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री माननीय किरण थापाले बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरको सराहना गर्नुभयो । वर्तमान समयमा गरिब, असहाय र वृद्धवृद्धाहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरणले ठूलो राहत पुगेको बताउनुभयो । फाउन्डेसनले मानवीय सेवाप्रति समर्पित भएर काम गरेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । निःशुल्क स्वास्थ्य शिविर ५८औँ हप्तामा आइपुग्दा १२ सयभन्दा बढी बिरामीहरू दर्ता भएका छन् । त्यस्तै चार हजार पटक बिरामीहरूको चेकजाँच भएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले बबरमहलस्थित आफ्नै केन्द्रीय कार्यालयमा हरेक हप्ताको दुई दिन मंगलबार र शुक्रबार विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । शिविरमा उपचारसँगै निःशुल्क औषधि वितरण गरिन्छ ।