काठमाडौं,
भगवान् बुद्धले सम्यक् सम्बोधि लाभ गर्नुभएको ४०औँ वर्षमा देशना गर्नुभएको अति गम्भीर सूत्र अपरिमितार्थ सूत्र छुट्टाछुट्टै स्थानमा पाठ गरिएको छ। आइतबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा श्रद्धेय भिक्षु, श्रद्धेय लामाहरू, बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनका स्वयंसेवकहरू तथा श्रद्धालुहरूको उपस्थितिमा महायान बौद्ध परम्परा अनुसार बिहीबार सामूहिक रूपमा अपरिमितार्थ सूत्रको पाठ गरिएको हो।
अपरिमितार्थ सूत्रमा एक बोधिसत्वले सम्यक् तरिकाले गर्नुपर्ने चर्याबारे विस्तृत व्याख्या गरिएको छ। तीन अध्यायमा विभाजन गरिएको यस सूत्रमा पहिलो अध्यायमा कुशल धर्महरू, दोस्रो अध्यायमा धर्मको व्याख्या र तेस्रो अध्यायमा दश पुण्यहरू समेटिएका छन्। यसैगरी नेपालको पहिलो तथा अग्रणी बौद्ध टेलिभिजन बोधि टेलिभिजनको कार्यालयमा पनि बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनका स्वयंसेवकहरू सहित बोधि टेलिभिजनका कर्मचारीहरूद्वारा सामूहिक रूपमा अपरिमितार्थ सूत्रको पहिलो अध्याय ‘कुशल धर्महरू’ पाठ गरिएको छ। अतुलनीय अपरिमितार्थ महायान सूत्रको पुण्य प्रभावले सबै साधारण प्राणीहरूलाई पनि आर्यफल लाभ गर्न, सधैंका लागि जीवन र मृत्युको चक्रबाट पार हुन तथा निर्वाण र सुखको अवस्थामा पुग्न सार्थक बनाउन सक्दछ। त्यसकारण यस सूत्रलाई अपरिमितार्थ सूत्र भनिन्छ।
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनका संस्थापक श्रद्धेय चङ्गयेन गुरु आमाको सदिक्षा अनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा अपरिमितार्थ सूत्र वाचन गर्न थालिएको हो। तिब्बती चन्द्र पात्रो अनुसार हरेक महिनाको २४औँ दिन बुद्ध जन्मस्थल लुम्बिनी र बोधि टेलिभिजनको कार्यालयमा सामूहिक रूपमा अपरिमितार्थ सूत्रपाठ वाचन हुँदै आइरहेको छ। सोही बमोजिम बिहीबार लुम्बिनी उद्यान परिसर र बोधि टेलिभिजनको कार्यालयमा सामूहिक रूपमा अपरिमितार्थ सूत्र पाठ गरिएको हो।