नेपाल संवत् ११४६ पोहेलागा अष्टमीका दिन विभिन्न स्थानका विहारहरूमा बुद्ध पूजा, त्रिरत्न वन्दनासहित धर्मदेशना कार्यक्रम आयोजना गरिएको छ। बुद्ध धर्म, बुद्ध शिक्षा तथा बुद्ध दर्शनको विकास, विस्तार र संरक्षण गर्ने उद्देश्यसहित शुक्रबार श्रीघःस्थित धर्मकीर्ति विहार र भृकुटीमण्डपस्थित बुद्ध विहारमा बुद्ध पूजासहित विशेष धार्मिक अनुष्ठानको आयोजना गरिएको हो।
सो क्रममा श्रद्धेय धम्मवती गुरुमाँ प्रमुख रहनुभएको धर्मकीर्ति विहारमा विहारकी आवासीय श्रद्धेय मेत्तावती गुरुमाँबाट शील प्रदानसहित बुद्ध पूजा सम्पन्न भई जातक अट्ठकथा अन्तर्गत भीमसेन जातकबारे धर्मदेशना गरिएको थियो। धर्मकीर्ति विहारमा प्रत्येक महिनाको संक्रान्ति, अष्टमी, औँसी र पूर्णिमाका दिन विहारकी प्रमुख गुरुमाँसहित आवासीय गुरुमाँहरूबाट बुद्ध पूजाका साथै भगवान् बुद्धका विभिन्न विषयमा नियमित रूपमा धर्मदेशना हुँदै आइरहेको छ। सोही शृङ्खलामा पोहेलागा अष्टमीका दिन श्रद्धेय मेत्तावती गुरुमाँबाट शील प्रदानसहित बुद्ध पूजा भई भीमसेन जातकबारे धर्मदेशना भएको हो। यसैगरी अष्टमीकै दिन श्रद्धेय भिक्षु कोण्डन्य महास्थविर प्रमुख रहनुभएको बुद्ध विहारमा पनि बुद्ध पूजा, त्रिरत्न वन्दना, ध्यान भावना तथा धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ। श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विहारका आवासीय श्रद्धेय भिक्षु बुद्धदत्तबाट बुद्ध पूजा तथा त्रिरत्न वन्दनासहित ध्यान भावना सम्पन्न गरिएको थियो भने विहार प्रमुख श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरबाट धर्मदेशना प्रदान गरिएको थियो।
धर्मदेशना पश्चात धर्मदेशना दिनुहुने श्रद्धेय भिक्षुलाई धर्म पूजा गरिएको थियो। त्यसपछि विश्व शान्तिको कामनासहित मङ्गल मैत्री आशिष प्रदान गर्दै सामूहिक रूपमा परित्राण पाठ गरिएको थियो। परित्राणको अर्थ चारैतिरबाट आउने भय, डर तथा विघ्न–बाधा हटाउनु हो। त्यसकारण परित्राण सूत्र पाठ गर्नाले तथा सुन्नाले आनिसंस प्राप्त हुने विश्वास गरिन्छ। सोही बमोजिम विहारको धम्मकक्षमा सामूहिक रूपमा परित्राण पाठको आयोजना गरिएको हो। अन्त्यमा दान प्रदान तथा सर्व सत्व प्राणीको पुण्य हेतुले पुण्यानुमोदना गरी कार्यक्रम समापन गरिएको थियो।