करूणा शर्मा, काठमाडौं
काठमाडौं जमलमा अवस्थित मैत्री बोधिसत्त्व महाविहारमा चर्या नृत्यको अभिषेक प्रदान गरी चर्या नृत्यको आयोजना गरिएको छ। बौद्ध विद्वान् यज्ञमानपति वज्राचार्यको उपस्थितिमा गुरुमण्डल, धर्मधातु मण्डल तथा बुद्ध–धर्म–संघको मण्डल निर्माण गरी २२ साधक–साधिकाहरूलाई चर्या नृत्यको अभिषेक प्रदान गरिएको हो। नेपाल मण्डलको वज्रयान परम्परामा गुरुबाट चर्या नृत्यको अभिषेक प्राप्त भइसकेपछि मात्र शिष्य चर्या नृत्यका लागि योग्य मानिने भएकाले सो कार्यक्रमको आयोजना गरिएको हो।
सो क्रममा साधक–साधिकाहरूले गुरुको नेतृत्वमा गुरुमण्डल, धर्मधातु मण्डल तथा बुद्ध–धर्म–संघको मण्डलको पूजा गरिसकेपछि अभिषेक प्रदान गरी सो लगत्तै चर्या नृत्य प्रस्तुत गरिएको थियो। चर्या नृत्य वज्रयान बौद्ध धर्मका चार मार्ग—क्रिया, चर्या, योग र अनुत्तरयोग—मध्ये ध्यान–नृत्यका रूपमा परिचित छ। चर्या नृत्य गर्दा साधकले आफूलाई वज्रयानी देवी–देवता ठानी चर्या गीतमा हातका मुद्रा तथा शरीरका विभिन्न भागहरूको हाउभाउ झल्किने किसिमले नृत्य गर्ने गर्दछन्। विगतमा केवल गुह्य रूपमा वज्रयानी विहारभित्रको आँगनमा मात्र सीमित भएर प्रस्तुत गरिँदै आएको चर्या नृत्य अहिले विद्यालय लगायत विभिन्न स्थानहरूमा प्रस्तुत हुँदै आएको छ। कुनै पनि मनोरञ्जनका लागि नभई गहिरो ध्यानभाव जागृत गर्न, मन–चित्तलाई एकाग्र र करुणामय बनाउने साधनाका रूपमा चर्या नृत्य गर्ने गरिन्छ। हरेक वर्ष पोँहेलाथ्व अष्टमी अर्थात् पौष शुक्ल अष्टमीका दिन काठमाडौं केलटोलमा अवस्थित प्रसिद्ध जनबहाद्य अवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको महास्नान गरिने गरिन्छ। सोही पवित्र दिनको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो।
पद्मपाणी लोकेश्वर, आनन्दादी लोकेश्वर, सृष्टिकान्ता लोकेश्वर र जनबहाद्य अवलोकितेश्वरलाई नेपालमण्डलका चार करुणामयका रूपमा लिइन्छ। जसअन्तर्गत पाटन बुंगमतीमा अवस्थित पद्मपाणी लोकेश्वरलाई वर्षा र सहकालका करुणामयका रूपमा मानिन्छ। किर्तिपुरको चोभारमा अवस्थित आनन्दादी लोकेश्वरलाई ग्रह, दशा, भय र रोगबाट मुक्ति दिलाउने बोधिसत्त्व करुणामयका रूपमा मानिन्छ। यसैगरी बनेपा नालामा अवस्थित सृष्टिकान्ता लोकेश्वरलाई सृष्टिकर्ताका रूपमा लिइन्छ भने काठमाडौं केलटोलमा अवस्थित जनबहाद्य अवलोकितेश्वरलाई आयु साधना वा आयु वृद्धिका लागि साधना गरिने करुणामयका रूपमा लिइन्छ।