काठमाडौं,
बुद्ध धर्म, बुद्ध शिक्षा र बुद्ध दर्शनको विकास, विस्तार तथा संरक्षण गर्ने उद्देश्यका साथ औंसीको अवसरमा विभिन्न स्थानका विहारहरूमा बुद्ध पूजा सम्पन्न भएको छ। शुक्रबार औंसीको अवसरमा श्रीघःस्थित धर्मकीर्ति विहार र भृकुटीमण्डपस्थित बुद्ध विहारमा बुद्ध पूजा सहित विशेष धार्मिक अनुष्ठानको आयोजना गरिएको छ।
श्रद्धेय धम्मवती गुरुमांको प्रमुख आतिथ्यमा धर्मकीर्ति विहारमा प्रत्येक महिनाको संक्रान्ति, अष्टमी, औंसी र पूर्णिमाका दिन विहारका प्रमुख गुरुमांसहित आवासीय गुरुमांहरूद्वारा बुद्ध पूजा, त्रिरत्न वन्दना तथा भगवान बुद्धका विभिन्न विषयमा धर्मदेशना हुँदै आइरहेको छ। यसै शृङ्खलामा औंसीका दिन श्रद्धेय केशावती गुरुमांबाट ध्यान भावना तथा धम्मपद अट्ठकथाअन्तर्गत अनुरुद्ध स्थविरको विषयमा धर्मदेशना प्रदान गरिएको थियो। यसैगरी श्रीघः विहारमा औंसीको अवसरमा श्रीघः ज्ञानमाला भजन खलःद्वारा ज्ञानमाला भजन प्रस्तुत गरिएको छ। बुद्ध धर्मलाई सङ्गीतको माध्यमबाट प्रचार–प्रसार गर्ने उद्देश्यले प्रत्येक महिनाको संक्रान्ति, औंसी, पूर्णिमा र अष्टमीका दिन उक्त विहारमा ज्ञानमाला भजन प्रस्तुत हुँदै आइरहेको छ। यसैक्रममा शुक्रबार औंसीको अवसरमा ज्ञानमाला भजन प्रस्तुत गरिएको हो। यसैगरी औंसीकै दिन श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरको प्रमुख आतिथ्यमा बुद्ध विहारमा श्रद्धेय भिक्षु सुद्धिकोद्वारा बुद्ध पूजा, त्रिरत्न वन्दना तथा ध्यान भावना सम्पन्न भएको छ। कार्यक्रममा श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरबाट शील प्रदान गरिएको थियो।
श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विहारको धम्मकक्षमा श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरबाट धर्मदेशना प्रदान गरिएको थियो। धर्मदेशना पश्चात् परित्राण पाठ गरिएको थियो भने उपासकहरूबाट अष्टपरिष्कार दान प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा दान–प्रदान तथा पुण्यानुमोदनसहित कार्यक्रम समापन गरिएको थियो।