काठमाडौं,
महाप्रजापति गौतमी भिक्षुणीको अस्तिधातु दर्शनका लागि विभिन्न विहारहरूमा परिक्रमा गराइएको छ। महाप्रजापति गौतमीको अस्तिधातु सर्वसाधारणलाई दर्शन तथा पूजाका लागि विभिन्न विहारहरू तथा धार्मिक स्थलहरूमा परिक्रमा गराइएको हो। अमेरिकाको क्यालिफोर्नियामा रहनुहुने श्रद्धेय तथागत भिक्षुणीको विशेष पहलमा नेपाल आउनुभएका श्रद्धेय भिक्षुणीहरूको समूहद्वारा उक्त अस्तिधातु दर्शनका लागि श्रीघस्थित धर्मकीर्ति विहार, चावहिलस्थित श्री चारुमती बुद्ध विहार लगायत विभिन्न स्थानहरूमा लगिएको थियो। सो अस्तिधातु लुम्बिनीस्थित कपिलवस्तुमा पनि बौद्ध अनुयायीहरू तथा सर्वसाधारणका लागि प्रदर्शनी गरिएपछि भारतस्थित श्रावस्तीमा निर्माणाधीन अमेरिकन बुद्ध विहारमा राखिने जनाइएको छ। उक्त कार्यक्रममा अमेरिका, क्युबा, अस्ट्रेलिया, श्रीलंका, इन्डोनेसिया, भारत र चीनका प्रतिनिधि श्रद्धेय भिक्षुणीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उपासक–उपासिकाहरूले महाप्रजापति गौतमी भिक्षुणीको अस्तिधातु दर्शन गरी श्रद्धाका साथ पूजा गरेका थिए। अस्तिधातुलाई सर्वसाधारणले दर्शन गर्न सकून् भन्ने पुण्य उद्देश्यका साथ श्रद्धेय भिक्षुणीहरूद्वारा प्रदर्शन गरिएको उक्त अस्तिधातु दर्शन श्रद्धेय भिक्षुणीप्रतिको धार्मिक श्रद्धाको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ भने बौद्ध अनुयायीहरूले दुर्लभ दर्शनको अवसर पनि प्राप्त गरेका छन्।