काठमाडौं,
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिस्ट चु जी च्यारिटी फाउन्डेसनद्वारा सञ्चालित दोस्रो चरणको पहिलो, दोस्रो र तेस्रो स्वयंसेवक तालिम समापन भएको छ। शनिबार काठमाडौं बबरमहलस्थित फाउन्डेसनको कार्यालयमा फाउन्डेसनद्वारा सञ्चालित दोस्रो चरणको पहिलो, दोस्रो र तेस्रो ब्याचको तालिम एकै पटक समापन भएको छ।
तालिममा सहभागी स्वयंसेवकहरूलाई बुद्ध शिक्षा र बोधिचर्यालाई व्यवहारमा कसरी उतार्ने तथा फाउन्डेसनको नियमबारे जानकारी प्रदान गरिएको छ। सो तालिमको पहिलो चरणमा सैद्धान्तिक विषयवस्तुमा आधारित रहेर प्रशिक्षण दिने गरिएको छ। जसअन्तर्गत बुद्ध शिक्षा, फाउन्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाले सिकाउनुभएका कुशल कर्महरू, फाउन्डेसनका नियमहरूका विविध विषयबारे प्रशिक्षण प्रदान गरिने गरिएको छ। यस्तै कार्यक्रममा सामूहिक रूपमा प्रार्थना पनि गरिएको थियो। फाउन्डेसनका स्थापिका श्रद्धेय चङ्येन गुरुआमाले भगवान् बुद्धको जन्मभूमिलाई केही फिर्ता दिनु पर्छ भनी आफ्ना स्वयंसेवकहरूलाई सक्रिय रूपमा खटाउनु भएको छ। भगवान् बुद्धले गृहस्थ उपासक–उपासिकाहरूको लागि देशना गर्नुभएको पश्चशीलको सिद्धान्तलाई दैनिक जीवनमा अनिवार्य पालन गर्नुपर्ने, आफ्नै पोशाकमा समाजसेवाको लागि तोकिएको कार्यक्षेत्रमा खटिनु पर्ने लगायतका सर्तका साथ संसारभरि 'चुजी कालाखौ' स्वयंसेवकहरू कार्यरत छन्।
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिस्ट चु जी च्यारिटी फाउन्डेसन भगवान् बुद्धका शिक्षालाई आधार बनाएर सन् १९९६ मा ताइवानका श्रद्धेय चङ्येन गुरुआमाले स्थापना गर्नुभएको सामाजिक परोपकारी संस्था हो। त्यसकारण जोसुकै इच्छुक व्यक्तिहरू सो फाउन्डेसनमा सहजै रूपमा आबद्ध हुन सक्नेछन्।