बुद्ध मूर्ति धादिङ जिल्लाको गंगाजमुना गाउँपालिकालाई हस्तान्तरण

img

काठमाडाैं,
थाइल्यान्डबाट ल्याइएको बुद्ध मूर्ति धादिङ जिल्लाको गंगाजमुना गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका–५ मा अवस्थित ठोट्ने मन्दिर परिसरमा प्रतिष्‍ठापनका लागि बौद्ध राष्ट्र थाइल्यान्डबाट ल्याइएको बुद्ध मूर्ति विहार प्रमुख श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरद्वारा गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामालाई हस्तान्तरण गरिएको हो। सो क्रममा श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरले बुद्ध मूर्तिको आयात र हस्तान्तरणले अन्तरराष्ट्रीय बौद्धिक सम्बन्ध र सांस्कृतिक आदान–प्रदानमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो।
यसैगरी गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले विहार परिवार र समन्वयकर्ताहरू प्रति विशेष धन्यवाद व्यक्त गर्दै सो कार्यले बौद्ध धर्म, शिक्षा र दर्शनको प्रचार–प्रसार गर्न सहयोग पुग्नुका साथै बौद्ध संस्कार र परम्पराको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी सो मूर्ति प्रतिष्‍ठापनले मन्दिरको आध्यात्मिक महत्व बढाउने मात्र नभई स्थानीय समुदायमा धार्मिक अभ्यास र सांस्कृतिक कार्यक्रमहरूलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। श्रीघःस्थित धर्मकीर्ति विहार र कीर्तिपुरस्थित नगरमण्डप श्री कीर्ति विहारको समन्वयमा बुद्धभूमि नेपाल ल्याइएको बुद्ध मूर्तिको माध्यमबाट सामाजिक एकता, सांस्कृतिक पहिचान तथा धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी दुई देशबीच धार्मिक र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने र भावी पुस्तालाई बौद्ध संस्कार तथा परम्पराको विकास र विस्तारको माध्यम बन्ने विश्वास गरिएको छ।