काठमाडाैं,
नेपाल परम्परागत बुद्ध धर्म संघका अध्यक्ष श्रद्धेय चक्रेश्वर प्रा. डा. नरेशमान बज्राचार्यबाट न्यास लिकायेगु पूजा भएको छ। काठमाडौँ असनस्थित हर्ष चैत्य महाविहारमा शनिबार श्रद्धेय चक्रेश्वर नरेशमान बज्राचार्य सहित श्रद्धेय गुरुज्यूहरूबाट न्यास लिकायेगु पूजा आयोजना गरिएको हो। सो स्थानमा काठमाडौँ महानगरपालिका र तुलाधर समुदायको संयुक्त सहकार्यमा हर्ष चैत्य महाविहार, हाकुबहामा विधि–विधानपूर्वक जिर्णोद्धार भइरहेको छ। सोही क्रममा शनिबार श्रद्धेय चक्रेश्वर नरेशमान बज्राचार्यको प्रमुखत्वमा उक्त पूजा सम्पन्न गरिएको हो।
काठमाडौँका अठार महाविहारमध्ये एक रहेको ध्वाखाको शाखा विहार मानिने हर्ष चैत्य महाविहारमा रहेका विभिन्न देव–देवीहरूको प्राण निकालेर घटामा राखी, वज्रयान परम्परा अनुसार श्रद्धेय गुरु बज्राचार्यहरूबाट विशेष पूजा गरिएको हो। सो पूजाको अघिल्लो दिन दीक्षा प्राप्त गुरुज्यूहरू सर्जु बज्राचार्य, दिपेन्द्र बज्राचार्य र सुजन बज्राचार्यबाट पुरश्चरन अर्थात् विशेष गुह्य पूजा र ध्यान सम्पन्न गरिएको थियो। हर्ष चैत्य महाविहारमा भइरहेको यो जिर्णोद्धार कार्यले विहारको संरक्षण मात्र नभई आगामी पुस्तासम्म यसको धार्मिक तथा सांस्कृतिक सम्पदा सुरक्षित राख्न मद्दत पुग्ने विश्वास गरिएको छ।