काठमाडाैं,
बुद्धको उपदेश अनुसरण गरौँ, चित्तलाई हामी परिशुद्ध बनाऔँ भन्ने विषयमा तीन नगरपालिकाको सामुदायिक माध्यमिक विद्यालय स्तरीय बौद्ध वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। राष्ट्रिय ज्ञानमाला संघ किर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली उपसमितिको आयोजनामा किर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाका १५ सामुदायिक माध्यमिक विद्यालयहरूको सहभागितामा शनिबार बौद्ध वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा १५ विद्यालयका विद्यार्थीहरूले क्रमसँग बुद्धको उपदेश अनुसरण गरौँ, चित्तलाई हामी परिशुद्ध बनाऔँ भन्ने विषयमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए। जसमध्ये मंगल माध्यमिक विद्यालय की छात्रा रश्मी कँडेल प्रथम, जनसेवा माध्यमिक विद्यालय का छात्र आयम अधिकारी द्वितीय र श्रीकृष्ण माध्यमिक विद्यालय की छात्रा मोलिना बसौला तृतीय स्थान प्राप्त गर्नुभएको छ। सो क्रममा प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो। भगवान बुद्धका उपदेशहरूको माध्यमबाट युवा पुस्तालाई प्रशिक्षित गरी अहिंसा, मैत्री र करुणायुक्त समाज सृजना गर्न सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
श्रद्धेय प्रसन्नवती गुरुमाबाट शील प्रदान गरेर सुरु गरिएको कार्यक्रममा किर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखहरू, राष्ट्रिय ज्ञानमाला संघ नेपालका अध्यक्ष रमणा श्रेष्ठ, शिक्षक, विद्यार्थी लगायत विभिन्न बौद्ध संघ–संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। यस प्रतियोगिताले विद्यार्थीहरूलाई बौद्ध धर्म र शिक्षाको प्रचार–प्रसारमा सक्रिय सहभागी गराउँदै बौद्ध शिक्षाप्रति श्रद्धा अभिवृद्धि हुने विश्वास गरिएको छ।