करूणा शर्मा, काठमाडाैं
ललितपुर महानगरपालिकामा रहेका बौद्ध विहारहरूको छाता संगठन बौद्ध विहार संघ ललितपुरको स्वर्ण वार्षिकोत्सवको उपलक्ष्यमा स्वर्ण जयन्ती स्मारिका विमोचन गरिएको छ। थेरवाद, महायान र वज्रयान परम्पराका श्रद्धेय भिक्षु, लामा गुरू र चक्रेश्वरको प्रमुखत्वमा सोमबार संघको स्वर्ण वार्षिकोत्सव समापन भएको छ।
ललितपुर मंगल बजार दरबार स्क्वायरमा आयोजना गरिएको सो समारोहमा अखिल नेपाल भिक्षु महासंघका श्रद्धेय भिक्षु धम्मशोभन महास्थविर, श्रद्धेय योङ्गे मिंग्युर रिन्पोछे, श्रद्धेय चक्रेश्वर आजु दिव्यरत्न बज्राचार्य, ललितपुर महानगरपालिकाका प्रमुख, उप–प्रमुख, बौद्ध विहार संघका पदाधिकारीहरू तथा विभिन्न बौद्ध संघ–संस्थाहरूको सहभागिता रहेको थियो। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथिहरूद्वारा संयुक्त रूपमा स्वर्ण जयन्ती स्मारिका विमोचन गरिएको थियो। यसैगरी कार्यक्रममा संघको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने बौद्ध विहार संघमा सहयोग गर्दै आइरहनुभएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बौद्ध विहार संघले आफ्नो स्थापनाकालदेखि नै धार्मिक एवं सामाजिक कार्यलगायत पाटनको बहाबही पुनःनिर्माणको कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।
यसैगरी कार्यक्रममा संघका पदाधिकारीहरूले ललितपुर नगर क्षेत्रका बहाबहीहरूको संरक्षण र सम्बर्द्धनमा विगत ५० वर्षदेखि यस संघले विशेष योगदान दिँदै आइरहेको जानकारी दिनुभयो।बौद्ध विहार संघले स्वर्ण वार्षिकोत्सवको उपलक्ष्यमा सामूहिक रूपमा एकैपटक १ हजार ८ सय जनाद्वारा आर्य नामसङ्गीति वाचनसहित विभिन्न कार्यक्रमहरूको आयोजना गरेको थियो।