तारा पूजा र च्वेद् पूजा समापन

img

करूणा शर्मा, काठमाडाैं
ललितपुरको ज्याठाबहालस्थित पद्मवर्ण महायान विहारमा हरेक महिनाको एक गते नियमित रूपमा हुँदै आइरहेको आर्य तारा पूजा समापन भएको छ। पाटनको ज्याठाबहालस्थित पद्मवर्ण महायान विहारमा हरेक महिनाको १ गते आर्य तारा पूजा हुँदै आएको छ। सोही क्रममा मंसिर १ गते सोमबार पनि महाविहारका अध्यक्ष श्रद्धेय लामा गुणसागरको उपस्थितिमा तारा पूजा गरिएको हो।
महिनाको एक पटक मात्र आर्य तारा पूजा गर्न सकेमा जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाधान हुने, मानव जीवनमा आइपर्ने विभिन्न बाधा–अड्चनहरू सहजै हट्ने भएकाले आर्य तारा पूजाको विशेष महत्व रहेको छ। बिहानको समयमा भएको पूजामा आनिहरू, लामाहारूसहित श्रद्धालुहरूको सहभागिता रहेको थियो। आर्य तारा पूजा गर्नाले निरोगी हुने र आत्मसन्तुष्टि बढ्ने विश्वासका कारण आर्य तारा पूजाप्रति उपासक–उपासिकाहरूको ठूलो आस्था र विश्वास रहेको छ। यस्तै तारा पूजाको अन्त्यमा ‘च्वेद्’ अर्थात् डमरु पूजा पनि गरिएको थियो। अज्ञानको अन्धकार हटाई प्रज्ञाको विकास गर्न सहयोग पुग्ने भएकाले महायान बौद्ध परम्परामा च्वेद् पूजाको विशेष महत्व रहेको छ। यस्तै, च्वेद् पूजा गर्दा चित्तलाई एकाग्र र शुद्ध बनाउने विश्वास रहँदै आएको छ। त्यसकारण पनि च्वेद् पूजालाई करुणा र मैत्रीभाव जगाउने विधिको रूपमा हेर्ने गरिएको छ।