करूणा शर्मा, काठमाडौं,
पालथुव्तेन सेडुप लिङ हजार बुद्ध गुम्बामा आयोजित अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समापन भएको छ। बुद्ध शिक्षाको संरक्षण र प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वासका साथ श्रद्धेय क्याब्जे छोक्नीमा रिन्पोछेको सदिक्षाअनुसार गत मङ्गलबारदेखि सुरु भएको सो समारोह सोमबार समापन भएको छ।
समारोहमा नेपाली, चिनियाँ, भियतनामी सहित विभिन्न बौद्ध राष्ट्रका सयौँ श्रद्धेय भिक्षु, भिक्षुणी तथा हजारौँ श्रद्धालुहरूको सहभागिता रहेको थियो। सो समारोहमा श्रद्धेय क्याब्जे छोक्नीमा रिन्पोछेले मायादेवी मन्दिरभित्र बुद्ध मूर्ति राखिदिन आग्रह गर्नुभएको छ। बुद्ध जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध मार्गीहरूको पुण्यभूमि हो। त्यसकारण भगवान बुद्धका महत्वपूर्ण चार स्थानमध्ये जन्मस्थल लुम्बिनी सबैभन्दा महत्वपूर्ण रहेको छ। संसारभरका बौद्ध मार्गीहरू जीवनमा एकपटक मात्रै भए पनि बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहन्छन्। यसरी बौद्ध मार्गीहरू बुद्ध जन्मस्थल लुम्बिनी आउँदा बुद्धको मूर्ति समेत नहुनु दुखद पक्ष हो। त्यसकारण सरकारले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरभित्र बुद्ध मूर्ति स्थापना गर्न अत्यन्त आवश्यक छ,” श्रद्धेय रिन्पोछेले भन्नुभयो। यसैगरी कार्यक्रममा श्रद्धेय रिन्पोछेले भगवान बुद्धको शिक्षा र उपदेशलाई आत्मसात गरी विश्वभर फैलाउन आग्रह गर्नुभएको छ। एक सातासम्म सञ्चालन भएको कार्यक्रममा पाली, चिनियाँ, भोट, अङ्ग्रेजी र संस्कृत भाषामा विभिन्न बौद्ध सूत्रहरूको पाठ गरिएको थियो भने अन्तिम दिन चिनियाँ, भियतनामी र अङ्ग्रेजी भाषाबाट विभिन्न बौद्ध सूत्रहरूको पाठ गरी ‘च्वेद’ अर्थात् डमरु पूजा गरिएको थियो। भगवान बुद्धका उपदेश वैज्ञानिक र समयसापेक्ष रहेको कारण ती उपदेशहरूको बुद्ध जन्मस्थलमा पाठ गर्दा त्यसबाट सकारात्मक उर्जा पैदा भएको तथा लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्ध शिक्षा अन्तर्राष्ट्रियकरणमा सहयोग पुगेको सहभागीहरूको भनाइ छ।
सो कार्यक्रमबाट बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउन, लुम्बिनीमा धार्मिक तथा सांस्कृतिक गतिविधिहरू बढाउन र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। भगवान बुद्धको शिक्षालाई त्रिपिटक पाठले विश्वभर फैलाउन महत्वपूर्ण योगदान पुग्ने बताउँदै यस समारोहलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने आयोजक संघले जनाएको छ।