श्रद्धेय गुरु योङगे मिङ्ग्युर रिनपोछेद्वारा विशेष ध्यान प्रशिक्षण कार्यक्रमको आयोजना

img

काठमाडौं,
श्रद्धेय गुरु योङगे मिङ्ग्युर रिनपोछेद्वारा ललितपुरमा विशेष ध्यान प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ। बुद्ध प्रकाश फाउन्डेशन र बौद्ध विहार संघ ललितपुरद्वारा आयोजित कार्यक्रममा श्रद्धेय गुरु योङगे मिङ्ग्युर रिनपोछेले आधुनिक जीवनमा बौद्ध शिक्षा अभ्यास विषयमा प्रशिक्षण दिनुभएको छ। सो क्रममा श्रद्धेय रिनपोछेले ध्यान, करुणा, चित्तको स्थिरता र आत्म–निरीक्षणका विषयमा व्यावहारिक मार्गदर्शन प्रदान गर्नुभएको थियो।
कार्यक्रममा श्रद्धेय रिनपोछेले आधुनिक जीवनको तनाव, व्यस्तता र मानसिक अस्थिरताबीच बौद्ध ध्यान अभ्यास कसरी प्रभावकारी बन्न सक्छ भन्ने विषयमा प्रकाश पार्नुभयो। उहाँले सहभागीहरूलाई माइन्डफुलनेस, विपश्यना आधारित ध्यान विधिहरू सिकाउँदै आत्म–अनुशासन र चित्तको शुद्धिकरणमा जोड दिनुभएको थियो। बुद्ध प्रकाश फाउन्डेशनले बुद्ध शिक्षासँगै ध्यानको अभ्यासलाई सर्वसुलभ बनाएर नेपाली समाज र विशेषगरी नेपाली भाषाभाषीहरूलाई लक्षित गरी विभिन्न स्थानहरूमा ध्यान अभ्यास र बौद्ध धर्म सम्बन्धी कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। यसै क्रममा बौद्ध विहार संघ ललितपुरसँगको सहकार्यमा आयोजित कार्यक्रमले ध्यान र बौद्ध शिक्षालाई आधुनिक जीवनमा समावेश गर्ने प्रयासलाई सशक्त बनाएको छ। साथसाथै श्रद्धेय रिनपोछेले प्रदान गर्नुभएको प्रशिक्षणबाट आत्म–निरीक्षण, चिन्तन, मानसिक शान्ति र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न प्रेरणा प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।