नेपाल बौद्ध परियत्ति परीक्षा देशैभर सञ्चालन

img

काठमाडौं,
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित बुद्ध संवत् २५६९ को नेपाल बौद्ध परियत्ति परीक्षा देशैभर सञ्चालन भएको छ। शनिवार देशभर परियत्ति तह ७ देखि १० सम्मको प्रथम, द्वितीय र तृतीय पत्रको परीक्षा सञ्चालन भएको छ। परीक्षामा कक्षा सातमा ७९, कक्षा आठमा ६५, कक्षा नौमा ४६ र कक्षा १० मा ४५ गरी कुल २३५ परीक्षार्थी समावेश छन्, जसमा एक जना अमेरिकी विद्यार्थी रहेका छन्। नेपाल मण्डलसहित सम्पूर्ण परीक्षा केन्द्रहरूमा अनुशासित र मर्यादित ढंगबाट लिखित परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रक श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविरले जानकारी दिनुभयो।
परियत्ति शिक्षाले मानिसलाई मनुष्यत्वको महत्व बुझाएर एक असल व्यक्ती बनी अरुलाई पनि त्यस्तै बन्न प्रेरणा दिने भएकाले सम्पूर्णले परियत्ति शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या वृद्धि हुँदै गएको श्रद्धेय भिक्षुले बताउनुभयो। नेपाल बौद्ध परियत्ति शिक्षाको मूल उद्देश्य मानिसलाई मनुष्यत्वको महत्व बुझाएर एक असल व्यक्ती बनी अरुलाई पनि त्यस्तै बन्न प्रेरणा दिनु हो। परियत्ति शिक्षामा विशेष गरेर बालबालिकाहरूलाई केन्द्रित गरेर उनीहरूलाई सानै उमेरदेखि नैतिकताको मार्ग र सही बौद्धिकताको विकास गर्नमा जोड दिइन्छ। जब विकास, अनुशासन, लगनशीलता, धैर्यता र क्षमताभएका व्यक्तिहरू उच्च ओहदामा पुग्छन्, तब मात्र धेरैले उनीहरुकै माध्यमबाट शान्ति, सुख र अमन–चैनको अनुभूति गर्न पाउँछन् भन्ने संघको मुख्य उद्देश्य रहेको छ। नेपालमा वि.सं. २०१९ बाट परियत्ति शिक्षाको सुरुवात भए तापनि औपचारिक रूपमा २०२० सालदेखि नुवाकोटको त्रिशूलीमा श्रद्धेय भिक्षु बुद्धघोष महास्थविरको अथक प्रयासमा संघ महानायक प्रज्ञानन्द महास्थविरको ६५औं शुभजन्मोत्सवको उपलक्ष्यमा शुरु गरिएको हो।
तर पछिल्लो समयमा नेपालमा परियत्ति बौद्ध स्कूलहरू, विभिन्न बौद्ध संघ–संस्था लगायत टोल–टोलमा विभिन्न पुचःको आयोजनामा समेत परियत्ति केन्द्रहरू सञ्चालन भइरहेका छन्, जसले गर्दा परियत्ति शिक्षाको प्रचार–प्रसार बढ्दै गएको छ। तह ७ देखि १० सम्मको प्रथम, द्वितीय र तृतीय पत्रको बाँकी परीक्षा क्रमशः आगामी शनिवार २९ गते र मंसिर ६ गते सञ्चालन हुने अखिल नेपाल भिक्षु महासंघले जनाएको छ।