साप्ताहिक मणि जप कार्यक्रम सुरु

img

काठमाडौं,
लोकेश्वर ध्यानागार गुम्बामा साप्ताहिक मणि जप कार्यक्रम सुरु भएको छ। श्रद्धेय टासी गुरुको मार्गदर्शनमा बुद्धत्व प्राप्ति र छ लोकको उद्धारका लागि मणि ढुंग्यूर दश करोड जप आरम्भ गरिएको हो। देव, असुर, मनुष्य, पशु, प्रेत र नरक गरी छ लोकका समस्त प्राणीहरूको उद्धार र कल्याणको कामना गर्दै मणि जप सञ्चालन गरिएको हो। 
गुरुले मणि मन्त्रको जपमार्फत आन्तरिक शान्ति, करुणा, प्रेम र आत्मशुद्धिको सन्देश फैलाउने उद्देश्य राख्नुभएको छ। यस जपबाट प्राप्त सकारात्मक ऊर्जाले समाजमा शान्ति, सहअस्तित्व र धार्मिक एकता बलियो बन्ने विश्वास लिइएको छ। कार्यक्रम प्रत्येक बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म गुम्बाको ध्यान हलमा आयोजना हुने छ। श्रद्धेय टासी गुरुको उपस्थितिमा साधकहरू सामूहिक रूपमा जपमा सहभागी भई ध्यान, पूजा र प्रार्थना गर्नेछन्। गुम्बाको तर्फबाट सम्पूर्ण श्रद्धालु र बौद्ध धर्मप्रेमीहरूलाई यस पुण्य कार्यमा सहभागी भई पुण्य सञ्चय गर्न हार्दिक अनुरोध गरिएको छ। बुधबारदेखि सुरु भएको यो साप्ताहिक मणि जप कार्यक्रम आगामी मंगलवारसम्म निरन्तर सञ्चालन हुनेछ। कार्यक्रमको अन्त्यमा सर्वसत्व प्राणीको कल्याणको कामना गर्दै पुण्यानुमोदन र दान कार्यक्रम पनि गरिने गुम्बाले जनाएको छ।