बुद्ध पूजा, धर्मदेशना र ध्यान शिविर कार्यक्रमको आयोजना

img

काठमाडौं,
नेपाल संवत् ११४६ कछलाथ्व पुन्हिको अवसरमा काठमाडौं सानो भ¥याङस्थित रत्न विपश्यना विहारमा बुद्ध पूजा, धर्मदेशना र ध्यान शिविर कार्यक्रमको आयोजना गरिएको छ। श्रद्धेय निर्मलञाणी विना गुरुमाँ प्रमुख रहनुभएको यस विहारमा हरेक महिनाको पूर्णिमाको अवसरमा विशेष धार्मिक अनुष्ठानको आयोजना हुँदै आएको छ।
यसैक्रममा कछलाथ्व पुन्हिको एक दिने ध्यान शिविर, शील, बुद्ध पूजा, धर्मदेशना लगायतका विविध कार्यक्रमहरू आयोजना गरिएको हो। कार्यक्रमको सुरुवातमा ध्यान शिविरमा सहभागीहरूलाई श्रद्धेय निर्मलञाणी विना गुरुमाँले ध्यान गराउनुभएको थियो भने तत्पश्चात सामूहिक रूपमा बुद्ध पूजा गरिएको थियो। बुद्ध पूजापछि श्रद्धेय भिक्षु सयादोऊ सुजन पियबाट शील प्रदान भई बर्मीस भाषामा धर्मदेशना भएको थियो। श्रद्धेय भिक्षुले बर्मीस भाषामा दिनुभएको धर्मदेशनालाई श्रद्धेय निर्मलञाणी विना गुरुमाँले नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। यसैगरी पूर्णिमाकै अवसरमा कीर्तिपुरस्थित नगरमण्डप श्री कीर्ति विहारमा पनि बुद्ध पूजासहित धर्मदेशना कार्यक्रमको आयोजना गरिएको छ। बुधबार विहारको धम्मकक्षमा आयोजित कार्यक्रममा श्रद्धेय भिक्षु नन्द महास्थविरबाट बुद्ध पूजासहित शील प्रार्थना भई धर्मदेशना गरिएको थियो। त्यसैगरी श्रद्धेय भिक्षु तिस्स महास्थविरबाट ध्यान भावना भई श्रद्धेय मिना गुरुमाँबाट बुद्ध, धर्म र संघको धर्मगाथा वाचन गरिएको थियो।
कार्यक्रममा विभिन्न बाधा–अवरोध हटाउने पुण्य हेतुले परित्राण पाठ पनि गरिएको थियो भने अन्त्यमा सर्व सत्व प्राणीको पुण्य हेतुले पुण्यानुमोदन र दान प्रदान गरी कार्यक्रम समापन गरिएको थियो। सो विहारमा हरेक पूर्णिमाका दिन श्रद्धेय भिक्षु, गुरुमाँ तथा श्रद्धावान उपासक–उपासिकाहरूको सहभागितामा बुद्ध, धर्म र संघलाई त्रिरत्न वन्दना सहित काय, वाच र चित्तलाई शुद्ध गरी सामूहिक रूपमा बुद्ध पूजा हुँदै आएको छ।