विभिन्न स्थानमा रहेका विहारहरूमा बुद्ध पूजाको आयोजना

img

काठमाडौं,
बुधबार, कार्तिक पूर्णिमा अर्थात् ‘सकिमिला पुन्ही’ का दिन विशेष गरी नेवार समुदायमा मासकी अर्थात् पिँडालु तथा सक्खरखण्ड उसिनेर खाने प्रचलन रहेको छ। यस्तै पूर्णिमाको दिन बुद्ध जन्मस्थल लुम्बिनी सहित विभिन्न स्थानमा रहेका विहारहरूमा बुद्ध पूजा का साथै विशेष धार्मिक समारोहको आयोजना हुँदै आएको छ। यसैक्रममा श्रीघःस्थित श्रद्धेय धम्मवती गुरुमाँ प्रमुख रहनुभएको धर्मकिर्ति विहारमा शिल प्रदानका साथै बुद्ध पूजा भई धर्मदेशना भएको छ।
विहारका आवासीय श्रद्धेय गुरुमाँहरू, उपासक–उपासिकाहरूको सहभागिता रहेको कार्यक्रममा श्रद्धेय धम्मवती गुरुमाँको प्रमुखत्वमा श्रद्धेय खेमवती गुरुमाँबाट बुद्ध पूजा भएको थियो भने श्रद्धेय धम्मवती गुरुमाँबाट अभिधर्म अन्तर्गत विभंगपालीको वेदनाक्खन्ध बारे धर्मदेशना भएको थियो। यसैगरी भृकुटीमण्डपस्थित श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविर प्रमुख रहनुभएको विहारमा शिल प्रदानका साथै बुद्ध पूजा भई धर्मदेशना भएको छ। विहारको धम्मकक्षमा आयोजित कार्यक्रममा श्रद्धेय भिक्षु सुद्धिकोबाट बुद्ध पूजा, त्रिरत्न वन्दना भई ध्यानभावना गरिएको थियो। यसैगरी विहार प्रमुख श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट धर्मदेशना गरिएको थियो। कार्यक्रममा विश्वशान्तिको कामना गरी भिक्षु सुद्धिकोबाट परित्राण पाठ गरिएको थियो भने दाताद्वारा भिक्षुसंघलाई अष्टपरिस्कार दान गरिएको थियो। अन्त्यमा सर्वसत्व प्राणीको पुण्य हेतुले पुण्यानुमोदन गरी कार्यक्रम समापन गरिएको थियो।