थेरवाद बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन चिवर दान उत्सव अन्तर्गत बिहीबार किपुल्चा स्थित एहिपस्सिको बुद्ध विहारमा पवित्र कथिन चिवर दान सम्पन्न भएको छ । श्रद्धेय भिक्षु शरणंकर र भिक्षु पियदस्सीले वर्षावास सम्पन्न गर्नुभएको सुखद अवसरमा आइतवार बौद्ध अध्ययन पुच बलम्बुद्वारा महान् कथिन चिवर दान उत्सवको आयोजना गरिएको हो ।
वर्षावास बस्नुहुने श्रद्धेय भिक्षुलाई दाता परिवारबाट बौद्ध परम्पराअनुसार चिवर र अष्ट परिष्कार दान गर्ने प्रचलनअनुरूप आइतवार आयोजित कार्यक्रममा, सुरुवातमा दाता समूहबाट बाजागाजा र कथिन चिवरसहितको सामूहिक शोभायात्रा आयोजना गरिएको थियो । सो अवसरमा ज्ञानमाला भजन पनि प्रस्तुत गरिएको थियो । तत्पश्चात विहार प्राङ्गणमा आयोजित समारोहमा भिक्षु संघबाट शील प्रदानका साथै बुद्ध पूजा गरिएको थियो भने बुद्ध विहारका प्रमुख श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट कथिन चिवर दानको महत्वबारे धर्मदेशना गरिएको थियो । धर्मदेशना लगतै कार्यक्रममा भिक्षु संघबाट वाचन गरिएको दानगाथाको अनुशरण गरी दाताद्वारा भिक्षु संघलाई कथिन चिवर दान गरिएको थियो । त्यसपछि अष्ट परिष्कार दाताद्वारा अष्ट परिष्कार दान पनि गरिएको थियो । यसरी दाताद्वारा विनयपूर्ण वर्षावास पूरा गर्नुभएका भिक्षुहरूलाई चिवर र अष्ट परिष्कार दान गर्नु उहाँहरूको श्रद्धा, सांस्कृतिक पहिचान र धर्मप्रति समर्पणको प्रतीक पनि हो । कथिन चिवर दान समारोहले बुद्ध धर्मको परम्परा र सामाजिक सद्भावको वास्तविक अनुकरण प्रस्तुत गरेको छ । विहारमा निरन्तर सञ्चालन हुँदै आएका धार्मिक, शैक्षिक र सामाजिक कार्यक्रमहरूले समुदायमा शान्ति, सहकार्य र करुणा प्रवर्द्धन गर्दै आएका छन् ।
यस्ता उत्सवहरूले नयाँ पुस्तालाई बौद्ध धर्म, परम्परा र संस्कार बुझ्न र त्यसको अभ्यास गर्नमा ठूलो सहयोग पुग्ने बताउँदै श्रद्धेय भिक्षु पियदस्सी महास्थविरले आयोजक संघप्रति साधुवाद व्यक्त गर्नुभयो । भगवान् बुद्धका शिक्षाको अनुशरण गरी गरिने यस्ता किसिमका धार्मिक समारोहहरूबाट व्यक्तिगत मात्र होइन, समाजमा पनि परोपकार र नैतिक चेतनाको विकास गर्न ठूलो सहयोग पुग्ने बताइएको छ ।