परम पावन देजुङ रिन्पोछे ज्यूद्वारा व्योम कुसुमा महाविहार, विशालनगरको भ्रमण

img

काठमाडौं,
परम पावन देजुङ रिन्पोछे ज्यूले व्योम कुसुमा महाविहार, विशालनगरको भ्रमण गर्नुभएको छ । व्योम कुसुमा महाविहार, विशालनगरका शरणनायक परमपूज्य गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्री र महाकारुणिक जेत्सुनमा गुरुआमाको निमन्त्रणामा परम पावन रिन्पोछेले शनिबार महाविहारको भ्रमण गर्नुभएको हो ।
सो अवसरमा महाविहारका शरणनायक रिन्पोछे रत्नश्री, गुरुआमा, महाविहारका लामा गुरुहरू, खेन्पोहरू लगायत व्योम कुसुमा बुद्ध धर्म संघका संघबन्धुहरूले रिन्पोछेको स्वागत गरेका थिए । दर्शन तथा भेट कार्यक्रमको अवसरमा परमपूज्य विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्रीबाट परम पावन देजुङ रिन्पोछे ज्यूलाई मण्डला अर्पण गरिएको थियो भने देजुङ रिन्पोछेबाट प्राप्त भएको विशिष्ट गुरुहरूको अस्तु धातु दर्शनका लागि राखिएको थियो । यसैगरी कार्यक्रममा रिन्पोछे रत्नश्री सहित संघबन्धुहरूबाट परम पावन देजुङ रिन्पोछे ज्यूलाई समर्पित गरी लेखिएको सम्मानसहितको प्रशंसापत्र व्योम कुसुमा बुद्ध धर्म संघका अध्यक्ष मुकुन्द विष्टले वाचन गर्नुभएको थियो । परम पावन देजुङ रिन्पोछे ज्यूले गत वर्ष थार्लाम गुम्बामा लाम्ड्रे शिक्षाको आयोजना गर्नुभएको थियो । सो अवसरमा परम पावन ४१औं साक्या गोङ्मा थ्रिचेन रिन्पोछे र ४२औं साक्या थ्रिचेन रिन्पोछेका शिक्षा, अभिषेक र आशीर्वाद जन–जनसम्म पुर्‍याउनुभएको थियो ।
यसरी बुद्ध धर्म, शिक्षा, दर्शन र बौद्ध संस्कारको प्रचार–प्रसार गरी जगेर्ना गर्नमा रिन्पोछेलेपुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप शनिबार धन्यवाद ज्ञापनसहित महाविहारमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।