जनकवि दुर्गालाल श्रेष्ठका एकै पटक छ कृति सामूहिक रूपमा विमोचन

img

काठमाडौं,
जनकवि दुर्गालाल श्रेष्ठका एकै पटक छ कृति सामूहिक रूपमा विमोचन गरिएको छ । साथै ‘गर्व’ नामको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । दुर्गालाल साहित्य प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दुर्गालाल साहित्य प्रतिष्ठानका कार्यकारी निर्देशक कवि सुरेश किरण मानन्धर लगायतले संयुक्त रूपमा छ कृतिहरूको लोकार्पण गर्नुभएको हो ।
विमोचित पुस्तकहरूमा कावा, छुं छुं गिजिमिजिध्वः, कपुयाकुँ, नःलिगु नुगःखँ, कवितायाबाखँ कवितायाभासँ, हस्ताक्षर र थुया रहेका छन् । तीमध्ये नःलिगु नुगःखँ मा श्रद्धेय चंगयेन गुरुआमाले लेख्नुभएको “जिङ सि अपोरिजम” पुस्तकको नेपालभाषा अनुवाद जनकवि श्रेष्ठले गर्नुभएको हो । सो पुस्तकले धार्मिक र सामाजिक तहमा अर्थपूर्ण प्रभाव पार्ने क्षमता राख्दछ । बौद्ध धर्मका व्यवहारिक अभ्यासलाई सरल भाषामा उपलब्ध गराउँदै उपासक र साधकहरूबीच धर्म–अभ्यासको पहुँच बढाउँछ । यसले गुरु–शिष्य परम्परालाई मजबुत बनाउँदै धार्मिक चेतना र अनुशासनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । मातृभाषा अर्थात नेपालभाषामा अनुवादित पुस्तकले समुदायमा परम्परा र आधुनिक जीवनबीचको संवाद, सहिष्णुता र करुणाको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा पुस्तक समालोचकहरूले सरलताको धनी कवि, चेतनशील कवि दुर्गालाल श्रेष्ठ राष्ट्र र जनताकै काव्यविधाका विशिष्ट हस्ताक्षर भएको बताउँदै, श्रेष्ठका हरेक कृतिका हरफहरू सिंगो मानवजीवन र सामाजिक यथार्थपरक घटनाले भरिएका छन् भन्ने टिप्पणी गरेका थिए । यस्तै, उनीहरूले श्रेष्ठद्वारा लिखित कवितामा समाजका विषयवस्तु, स्थान–विशेष पात्रहरू, धर्म, संस्कृति र परम्पराका मूल्य र मान्यताहरू पनि समेटिएका छन् भने । त्यस्तै कार्यक्रममा नेपालभाषाका चान्सलर मल्ल के। सुन्दर र सुरेश किरण बीच जनकवि दुर्गालाल श्रेष्ठको कविताको प्रकृति र उहाँसँगको सहकार्यका विषयमा अन्तरक्रिया पनि भएको थियो । नेपालभाषा र नेपाली भाषाका लोकप्रिय प्रगतिशील साहित्यकार कवि दुर्गालाल श्रेष्ठको जन्म १९९२ सालमा नेपालकी राजधानी काठमाडौंमा भएको थियो । उहाँलाई नेपालभाषा परिषदले सन् २००३ मा ‘जनकवि’ उपाधिबाट सम्मान गरेको थियो ।
उहाँले आफ्नो मातृभाषा र नेपाली भाषामा सुन्दर गीत, कविता र बालसाहित्यमार्फत नेपाली साहित्यलाई समृद्ध बनाउन योगदान दिनुभएको छ । उहाँलाई जगदम्बाश्री पुरस्कार, नरोत्तमदास–इन्दिरा पुरस्कार, अभियान पुरस्कार, नूर–गंगा पुरस्कार, राष्ट्रिय बालसाहित्य पुरस्कार, जेएए सर्वश्रेष्ठ नाटककार पदक, हरिहर शास्त्री–सावित्री देवी साहित्य पुरस्कार लगायतका सम्मानले गौरव गरिएको छ । दर्जनौँ कृति प्रकाशित गरिसक्नुभएका श्रेष्ठका कृतिहरूमध्ये जी स्वयम्भू त्वथ, याकाफलेचा, चिनियाम्हाकि सिचातै भाबा, टपाका, जंगल कविता लगायतका कविता लोकप्रिय छन् । त्यस्तै, ‘फूलको आँखामा’, ‘फुलै संसार’, ‘झे मासिनी’ नामका गीतहरू पनि अत्यन्त लोकप्रिय रहेका छन् ।