काठमाडौं,
ऐतिहासिक स्वयम्भू महाचैत्यमा चौथो पटक चौरासी हजार सयपत्री फूल — अर्थात् चतुरासीति सहस्स पुप्फ पूजा हुने भएको छ। कार्तिक पूर्णिमा अर्थात् सकिमिला पुन्हिको पावन अवसरमा आगामी बुधवार काठमाडौंको कंकेश्वरीस्थित श्रद्धेय भिक्षु शारद महास्थविर प्रमुख रहनुभएको नमूना बुद्ध विहारको आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको हो।
चतुरासीति सहस्स पुप्फ पूजासँगै चौरासी व्यञ्जन बुद्ध पूजा, चौरासी अष्ट परिस्कार र चौरासी चिवर पूजामा सहभागी भई पुण्य सञ्चय गर्नका लागि श्रद्धेय भिक्षु शारद महास्थविरले सम्पूर्ण श्रद्धालुहरूमा आह्वान गर्नुभएको छ। सो कार्यका लागि नमूना विहारमा सयपत्रीका फूल ल्याउने, केही दिनअघि नै उपासक–उपासिकाहरूबाट श्रद्धाका साथ माला उन्ने, उन्निएका मालाहरू सङ्कलन गरी मिलाउने लगायतका कार्यहरू गरिने परम्परा रहेको छ। बौद्ध परम्परामा चौरासी हजार संख्यालाई अत्यन्त पवित्र मानिन्छ। बौद्धमार्गीहरूले विभिन्न अवसरहरूमा चौरासी हजार पटक साष्टाङ्ग दण्डवत (छ्याग) गर्ने, चौरासी व्यञ्जन भगवान बुद्धलाई अर्पण गर्ने जस्ता पवित्र कार्यहरू गर्दै आएका हुन्छन्।
त्यति मात्र होइन, भगवान बुद्धको उपदेशलाई पनि चौरासी हजार धर्म स्कन्धहरूमा विभाजन गरिएको छ। त्यस कारण चौरासी हजार सयपत्री फूल — अर्थात् चतुरासीति सहस्स पुप्फ पूजालाई दुर्लभ पुण्य सञ्चय गर्ने पूजाको रूपमा लिइने गरिएको छ।