काठमाडौं,
परमपूज्य गुरु मनिवा सेरप ग्याल्जेन रिन्पोछे जुले थुग्दाममा प्रवेश गर्नुभएको उनान्चासौं दिन रिन्पोछेको कुदुङको अन्त्येष्टि गरिएको छ। बुधवार निङ्मा, शाक्य, काग्यु र गेलुग परम्पराका रिन्पोछेहरूको प्रमुखत्वमा हिमाली महायान बज्रयान परम्परा अनुसार पाँच दिशामा पाँच प्रकारका विशेष होमको आयोजना गरी रिन्पोछेको कुदुङको नालागुम्बामा अन्त्येष्टि गरिएको हो। सो क्रममा पूर्व दिशामा रातो लोकेश्वरको पूजा, दक्षिण दिशामा चक्रसम्बरको पूजा, पश्चिम दिशामा अमिताभ बुद्धको पूजा, यसैगरी बाँकी दिशाहरूमा बज्रसत्व र सेतो लोकेश्वरको पूजा गरिएको थियो।
महायान बौद्ध परम्परा अनुसार विशेष कुदुङ पूजाका लागि रिन्पोछेको कुदुङलाई गत असोज १८ गते शनिबार स्वयम्भूस्थित मनाङ समाज गुम्बाबाट नालागुम्बामा लगिएको थियो। सो गुम्बामा २१ दिनसम्म विधिपूर्वक पूजा गरिसकेपछि बुधवार अन्त्येष्टि गरिएको हो। परमपूज्य रिन्पोछेको जन्म सन् १९५० मा नेपालका उत्तरी मनाङमा भएको थियो। रिन्पोछेलाई भारतको सिक्किममा रहेको कर्मा रुम्तेक गुम्बामा १६औं कर्मापा राङजुङ रिग्पे दोर्जेले हिमाली बौद्ध परम्परा अनुसार प्रव्रज्या संवर ग्रहण गराउनुभएको थियो। रिन्पोछेले १६औं कर्मापा राङजुङ रिग्पे दोर्जेको छत्रछायाँमा रही काग्यु परम्पराका अतिउच्चतम आगम तथा अभिषेकहरू प्राप्त गर्नुभएको थियो। रिन्पोछेले करुणामय अवलोकितेश्वर चेनरेजिगको दश डुङग्यूरभन्दा बढी जप संकलन गर्नुभएकोले उहाँलाई ूमनिवाू का विशिष्ट उपाधिबाट सम्मान गरिएको थियो। रिन्पोछेको देशनाको मूलभाव सबै प्राणीप्रति करुणा भाव राख्नु र बोधिचित्तलाई दैनिक जीवनमै उतार्न अभिप्रेरित गर्नु थियो — ताकि धर्म केवल ग्रन्थमा सीमित नभई व्यवहार र मानवीय सम्बन्ध उज्यालो पार्न पनि सेतुको रूपमा काम गरोस्।
यसैले रिन्पोछेले विगत २५ वर्षदेखि हरेक वर्ष मनाङ गुम्बामा मणि डुङग्यूर जप साधना कार्यक्रमको आयोजना गर्नुहुन्थ्यो। उहाँकै प्रमुखत्वमा हालसम्म बीस डुङग्यूर (करिब बीस अर्ब भन्दा बढी) चेनरेजिगको मन्त्रहरू संचित भइसकेका छन्। रिन्पोछेले गत भाद्र २० गते, तिब्बती चन्द्र पात्रो अनुसार २१५२ काठ सर्प वर्षको सातौं महिनाको १३औं दिन थुग्दाममा प्रवेश गर्नुभएको थियो। यो लोक तथा जगतको हितार्थ परमपूज्य रिन्पोछेको निर्वाणकाय टुल्कु शीघ्र यो लोकमा अवतरण होस् भनी हामी बोधि टेलिभिजन परिवार प्रणिधान गर्दछौं।