मुखः अष्टमीका अवसरमा बुद्ध पूजा र धर्मदेशना कार्यक्रम

img

काठमाडौं,
नेपाल संवत् ११४६ कछलाथ्व अष्टमी तथा मुखः अष्टमीका अवसरमा विभिन्न स्थानमा रहेका विहारहरूमा बुद्ध पूजाका साथै धर्मदेशना कार्यक्रमहरूको आयोजना गरिएको छ। बुधवार श्रद्धेय धम्मवती गुरुमां प्रमुख रहनुभएको धर्मकीर्ति विहार र श्रद्धेय भिक्षु कोण्डन्य महास्थविर प्रमुख रहनुभएको विहारमा बुद्ध पूजाका साथै धर्मदेशना भएको छ।
धर्मकीर्ति विहारको धर्मकक्षमा आयोजित धार्मिक समारोहमा श्रद्धेय वण्णवती गुरुमांको नेतृत्वमा शीलप्रदानका साथै बुद्ध पूजा सम्पन्न भई एतदग्गप्राप्त थेरी अन्तर्गत मोघराज महाश्रावक सम्बन्धी धर्मदेशना भएको थियो। यसैगरी अष्टमीकै अवसरमा भृकुटीमण्डपस्थित बुद्ध विहारमा पनि बुद्ध पूजाका साथै धर्मदेशना गरिएको थियो। विभिन्न स्थानका श्रद्धालुहरूको उपस्थितिसहितको कार्यक्रममा श्रद्धेय भिक्षु सुद्धिकोबाट बुद्ध पूजा, त्रिरत्न वन्दना तथा ध्यान अभ्यास गरिएको थियो भने भिक्षु कोण्डन्य महास्थविरबाट शीलप्रदान गरी धर्मदेशना गरिएको थियो।
बुद्ध धर्मको विकास र बौद्ध संस्कारको जगेर्ना गर्न सहयोग पुग्ने पुण्य हेतुले सो विहारमा विशेषगरी हरेक महिनाको अष्टमी, पूर्णिमा र औंशीका दिन बुद्ध पूजा र धर्मदेशना हुँदै आइरहेको छ। त्यसैक्रममा मुखः अष्टमीको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो। अन्त्यमा सर्व सत्व प्राणीको कल्याण तथा मंगलकामनाका लागि पुण्यानुमोदना गरिएको थियो।