काठमाडौं,
बुधवार कछलाथ्व अष्टमी, नेपाल संवत् अनुसार कछलाथ्व अष्टमीलाई मुखः अष्टमीको रूपमा मनाइन्छ। मुखाष्टमी भनेको ‘मुखः’ अर्थात् मुकुट लगाइदिने अष्टमी हो। आजको दिन विभिन्न शिवालयका शिवलिङ्गमा पञ्चबुद्ध अंकित मुकुट पहिर्याउने गरिन्छ। तर हाल यो प्रचलन पशुपतिनाथ र पाटनस्थित कुम्भेश्वर महादेव मन्दिरमा मात्र सीमित हुँदै गएको देखिन्छ। यस दिन पशुपतिनाथलाई स्वयम्भूबाट ल्याइएको पञ्चबुद्धको अंकित मुकुट लगाइदिने गरिन्छ भने कुम्भेश्वरमा हिरण्यवर्ण महाविहारबाट मुकुट ल्याउने प्रचलन रहेको छ।
सोही बमोजिम मुख अष्टमीका दिन बुधवार ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा अवस्थित कुम्भेश्वर महादेवको मन्दिरमा पनि पञ्चबुद्धको मुकुट पहिर्याएर पूजा गरिएको छ। सो मन्दिरमा हरेक वर्ष मुखः अष्टमी अर्थात् कार्तिक शुक्ल पक्ष अष्टमीका दिन शिवलिङ्गलाई पञ्चबुद्धको मूर्ति अंकित मुकुटले छोपेर पूजा गर्ने यो चलन विश्वकै लागि नौलो बनेको छ। यस्तो चलन अन्यत्र कतै रहेको पाइँदैन। यसरी ललितपुरको कुम्भेश्वर महादेवको मन्दिरमा बुद्धमूर्ति अंकित मुकुटले शिवलिङ्ग छोपेर गरिने पूजा सार्वजनिक गरिए पनि पशुपतिनाथको मन्दिरमा भने यस्तो पूजा सार्वजनिक गर्ने चलन रहेको पाइँदैन। यसरी मुकुट लगाइदिएर विधिपूर्वक पूजा गरेपछि सो मूर्तिलाई एक दिनका लागि शिवलिङ्ग नभई चैत्यको रूपमा पूजिन्छ। सुन्दा अनौठो लागे पनि, काठमाडौं उपत्यकाको रैथाने संस्कृति यो धार्मिक सहिष्णुताको अनुपम नमूना हो, सह–अस्तित्वलाई आत्मसात् गर्नुको उपज पनि हो। आजको दिन महायान बज्रयान बौद्धमार्गीहरूले १०८ लोकेश्वर मध्येका अन्तिम लोकेश्वर धर्तीमा आउनुभएको दिनको रूपमा लिने गर्दछन्। साथै आजको दिन बज्रयानी बौद्ध धर्मावलम्बीहरू पशुपतिनाथ र अन्य स्थानमा रहेका महादेवका मन्दिरमा दर्शन गर्न जाने गर्दछन्।
यस्तै अष्टमीको दिनभरि कुम्भेश्वर मन्दिर भित्रको शिवलिङ्गमा पञ्चबुद्ध मुकुटले छोपी सर्वसाधारणको दर्शनका लागि राखिने गरिन्छ। त्यस कारण यस दिन कुम्भेश्वर क्षेत्रमा मेला लाग्ने गर्दछ भने कुम्भेश्वर मन्दिरलाई पाटनको पशुपतिनाथको रूपमा समेत लिइने गरिएको छ।