रक्तदान कार्यक्रमको आयोजना

img

काठमाडौं,
अन्तर्राष्ट्रिय परोपकारी संस्था ‘बुद्धिस्ट चु जी च्यारिटी फाउन्डेशन’ द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा सोमवार फाउन्डेशनको कार्यालयमा उक्त रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।
भगवान बुद्धका शिक्षा र फाउन्डेशनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको सदिक्षाअनुसार सामाजिक न्याय र करुणाका आधारमा जन–जनसम्म स्वास्थ्य सेवा पुर्‍याउँदै आइरहेको फाउन्डेशनले बुद्धभूमि नेपालमा विशेष गरी आफ्ना चार प्रमुख लक्ष्यहरू — परोपकार, शिक्षा, स्वास्थ्य र संस्कृति — क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ। यसैक्रममा स्वास्थ्य कार्यक्रमअन्तर्गत विरामीहरूमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले प्रत्येक महिनाको २७ गते रक्तदान कार्यक्रम आयोजना गर्ने परम्पराअनुसार सोमवार पनि रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
फाउन्डेशनले सामाजिक परोपकारी कार्यअन्तर्गत शिक्षा सहितको निःशुल्क स्वास्थ्य सेवा सँगसँगै मैत्री, करुणा र सद्भाव प्रवाह गर्दै आइरहेको छ। आर्थिक तथा स्वास्थ्य क्षेत्रमा पहुँचविहीन समुदायका मानिसहरूको जीवनस्तर उकास्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा १५ जना भन्दा बढीले रक्तदान गरेका छन्।