संयुक्त निकायको दोस्रो भाग विमोचन

img

काठमाडौं,
नेपालका आठौं संघनायक श्रद्धेय भिक्षु बोधिसेन महास्थविरद्धारा नेपाली भाषामा अनुवाद गरिएको संयुक्त निकायको दोस्रो भाग विमोचन गरिएको छ। सोमवार बोधिचर्या विहारमा आयोजित कथिन दान उत्सव समापन भइसकेपछि बुद्धवचन सुत्तपिटक अन्तर्गत तेस्रो निकाय ग्रन्थ संयुक्त निकायको दोस्रो भाग विमोचन गरिएको हो।
श्रद्धेय भिक्षुले वर्षावास सम्पन्न गर्नुभएको सुखद अवसरमा उपासिका चन्द्रदेवी शाक्य तथा परिवारद्धारा, दिवंगत उपासक धर्मनरसिंह शाक्यको गुणानुस्मरणमा पुस्तक प्रकाशन गरी श्रद्धेय भिक्षुलाई धर्मदान स्वरूप सो पुस्तक प्रदान गरिएको हो। संयुक्त निकायलाई पाँच खण्ड र ५६ संयुत्तहरूमा विभाजित गरिएको छ। ती पाँच संयुक्तहरूमा क्रमशः ११, १०, १३, १२ र १० अध्यायहरू रहेका छन्। यस भागमा छोटा र लामो दुबै सुत्तहरू समावेश छन्। संयुत्त निकायका धेरैजसो सुत्तहरू गद्यमा रहेका छन्। प्रत्येक संयुक्तमा एउटै विषयमा धेरै सुत्तहरू हुने भएकाले यस निकायमा अन्य निकायहरूभन्दा बढी पुनरावृत्तिहरू पाइन्छन्।
सो पुस्तकको माध्यमबाट ज्ञानमय चक्षु उत्पन्न गर्नुका साथै, आफ्नो परिवारबीच धर्म साक्षात्कार गर्दै प्राप्त ज्ञानलाई व्यवहारमा उतारी जीवनमा सुख, शान्ति र निर्वाण प्राप्त गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ।