काठमाडौं,
थेरवाद बौद्ध समाजमा आश्विन पूर्णिमा देखि कार्तिक पूर्णिमा सम्म भव्यताका साथ मनाइने कथिन पर्वको विसौं दिन आइपुग्दा पनि पर्वको उल्लास कायमै रहेको छ। विभिन्न स्थानीय बाजासहित बुद्ध प्रतिमा, बौद्ध झण्डा र कथिन चिवरसहितको शोभायात्राले यस पर्वलाई अझ उल्लासमय बनाएको छ।
यसैक्रममा कथिन सुरु भएको विसौं दिन ललितपुर धापाखेलस्थित धापाखेल बुद्ध विहारका प्रमुख श्रद्धेय भिक्षु सुभदोले विनयपूर्वक वर्षावास सम्पन्न गर्नुभएको सुखद अवसरमा कथिन चिवर दान उत्सवको आयोजना गरिएको छ। कार्यक्रमको सुरुवातमा श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँहरू र सयौं श्रद्धालुहरूको लावालस्कर सहितको कथिन चिवरको शोभायात्रा गरिएको थियो। शोभायात्रा पश्चात विहारको धम्म कक्षमा भिक्षुसंघबाट शील प्रदानका साथै बुद्ध पूजा भई कथिन चिवर दानको महिमाबारे धर्मदेशना भएको थियो। विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेय गुरुमाँहरू सहित श्रद्धालुहरूको बाक्लो उपस्थिती रहेको कार्यक्रममा धर्मदेशना पश्चात धर्मदेशना दिने श्रद्धेय भिक्षुलाई धर्म पूजा गरिएको थियो भने धर्म पूजा लगत्तै भिक्षुसंघलाई कथिन चिवर दान गाथा वाचन गरी दाताद्वारा चिवरसँगै अष्टपरिष्कार दान गरिएको थियो। कथिन दान गर्दा दान दिने र दान लिने दुबै पक्षलाई दानको पुण्य प्रभावबाट महासागर झैँ ठूलो रूपमा आनिसंस प्राप्त हुने थेरवाद बौद्ध समाजमा विश्वास रहेको छ।
बुद्ध, धर्म र संघ भए मात्र कथिन चिवर दान गर्न सकिने भएकाले बौद्ध धर्मावलम्बीहरूले यस कथिन चिवर दानलाई अति नै विशेष महत्व दिई वर्षेनी सबै जना आ–आफ्नो हिसाबले तयारी गरी अति नै प्रणीत रूपमा मनाउने गर्दछन्। तीन महिना सम्म वर्षावास बस्नुभएका श्रद्धेय भिक्षुहरूलाई श्रद्धालुहरूद्वारा कथिन चिवरसहित अष्टपरिष्कार दान दिने परम्परा पनि रहेको छ। सोही बमोजिम विहारमा कथिन चिवरसहित अष्टपरिष्कार दान गरिएको हो।