काठमाडौं,
परम पूज्य गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्रीको बाहुलीबाट गुरु पद्मसम्भवको अभिषेक प्रदान भएको छ। व्योमकुसुम महाविहार, विशालनगरमा शनिबार रिन्पोछे रत्नश्रीबाट गुरु पद्मसम्भवको अभिषेक प्रदान गरिएको हो। श्रद्धेय खेन्पो, लामा, महाविहारका संघबन्धुहरू सहित श्रद्धालुहरूको उपस्थिति रहेको कार्यक्रममा अभिषेक प्रदान गर्नुअघि रिन्पोछेबाट शरणगमन गरिएको थियो। तत्पश्चात् रिन्पोछे रत्नश्रीले गुरु पद्मसम्भवको बारेमा देशना दिनुहुनेर अभिषेक प्रदान गर्नुभएको थियो।
गुरु पद्मसम्भव भारतको ओडियानाको उत्तर पश्चिम दिशामा धनकोश तालको टापुमा बहुरङ्गी कमलको फूलमा जन्मिनुभएको थियो। उहाँलाई ओडियानका राजा इन्द्रभूतिले पालनपोषण गर्नुभएको मानिन्छ। उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा तिब्बत र हिमाली क्षेत्रका समस्त बुद्ध अनुयायीहरूले ‘गुरु रिन्पोछे’को नामले पुकार्ने गर्दछन्। करिब आठौं शताब्दी तिर तिब्बतका राजा ठ्रिसोङ देउचेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै तिब्बतमा बौद्ध धर्मको रक्षा एवं प्रचार–प्रसार गर्न पालिनुहुँदा नेपालमा पनि उहाँले बौद्ध धर्मको व्यापक रूपमा प्रचार–प्रसार गर्नुभएको थियो। सो क्रममा गुरु पद्मसम्भवले खोटाङको हलेसीमारातिकाको गुफामा अमितायुस बुद्धको साक्षात् दर्शन गरी अमरत्व सिद्धि प्राप्त गर्नुभएको थियो। त्यसैगरी उहाँले दक्षिणकाली नगरपालिकाको फर्पिङमा बुद्धत्व प्राप्त गर्नुभएको थियो। त्यसै गरी दामनको ऋषेश्वर (छुमिक ज्याङछुप), काभ्रे तिमाल (यारी नाग), संखुवासभाको खेन्पालुङ, दोलखाको रोल्वालिङ, हेलम्बु, मुस्ताङ आदि स्थानमा पनि आचार्य पद्मसम्भवले ध्यान साधना गर्नुभएको भोट वाङ्मयमा उल्लेख गरिएको पाइन्छ। उहाँले भविष्यमा बौद्ध धर्म रक्षा होस् भनी पहाडका गुफाहरूमा कैयौँ निधिहरू सञ्चय गरेर राख्नुभएको कुरा उहाँको जीवनी पद्मकथाङ नामक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ। गुरु पद्मसम्भवले विशेष गरी तिब्बतमा बौद्ध तन्त्र साधनाको देशना गर्नुका साथै प्रसिद्ध सम्ये गोन्पा निर्माण गरी प्राणप्रतिष्ठा (राब्ने) पनि गर्नुभएको थियो।
आचार्य पद्मसम्भवको तिब्बतमा आगमन पश्चात् उत्तर एसियाको हिमाली क्षेत्रमा वज्रयान बौद्ध धर्मको व्यापक प्रचार–प्रसार भएको थियो। उहाँका अनुयायीहरू मध्ये निधिपति ९तेरतोन० ऋद्धि–शक्ति सम्पन्न अनुयायीहरू तत्कालीन समयमा नै नेपालको हिमाली क्षेत्रमा प्रवेश गरी जगत् हितार्थ अविच्छिन्न रूपमा वज्रयान बौद्ध तन्त्रको त्यस क्षेत्रमा विस्तार गर्नुभएको बौद्ध इतिहासमा उल्लेख पाइन्छ।