काठमाडौं,
भगवान् बुद्धले सम्यक सम्बोधि लाभ गर्नुभएको ४०औं वर्षमा देशना गर्नुभएको अतिगम्भीर सूत्र “अपरिमितार्थ सूत्र” दुई छुट्टाछुट्टै स्थानमा वाचन गरिएको छ। बुधबार, बुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनको कार्यालय र बोधि टेलिभिजनको कार्यालय, काठमाडौंमा अपरिमितार्थ सूत्र वाचन गरिएको हो।
सो क्रममा लुम्बिनीमा आयोजित कार्यक्रममा बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनका स्वयंसेवकहरू सहित श्रद्धालुहरूको सहभागिता रहेको थियो। त्यस्तै, बोधि टेलिभिजनको कार्यालयमा पनि फाउण्डेसनका स्वयंसेवक र टेलिभिजनका कर्मचारीहरूको सहभागितामा अपरिमितार्थ सूत्र वाचन गरिएको हो। अपरिमितार्थ सूत्रमा एक बोधिसत्वले सम्यक तरिकाले गर्नुपर्ने चर्याका बारेमा विस्तृत व्याख्या गरिएको छ। तीन अध्यायमा विभाजित यस सूत्रमा पहिलो अध्यायमा कुशल धर्महरू, दोस्रो अध्यायमा धर्मको व्याख्या, र तेस्रो अध्यायमा दश पुण्यहरू समेटिएका छन्। अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनका संस्थापक श्रद्धेय चङ्ग येन गुरुआमाको सदिच्छा अनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा अपरिमितार्थ सूत्र वाचन गर्न थालिएको हो।
तिब्बती चन्द्र पात्रो अनुसार हरेक महिनाको २४ औं दिन, बुद्ध जन्मस्थल लुम्बिनी र बोधि टेलिभिजनको कार्यालयमा सामूहिक रूपमा अपरिमितार्थ सूत्र पाठ वाचन हुँदै आइरहेको छ। त्यसै अनुरूप बुधबार लुम्बिनी र काठमाडौं दुवै स्थानमा सामूहिक रूपमा अपरिमितार्थ सूत्र पाठ वाचन गरिएको हो।