श्रीघः विहारमा आयोजित महान कथिन चिवर दान उत्सव समापन

img

काठमाडौं,
काठमाडौं स्थित श्रीघः विहारमा आयोजित महान कथिन चिवर दान उत्सव समापन भएको छ। श्रीघः विहारका श्रद्धेय भिक्षु गौतम महास्थविरले विनयपूर्वक वर्षावास सम्पन्न गर्नुभएको उपलक्ष्यमा विहार पुचः द्वारा मंगलबार कथिन चिवर दान कार्यक्रमको आयोजना गरिएको हो।
विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेय गुरुमाँहरू तथा श्रद्धालुहरूको सहभागितामा विहार प्रांगणमा आयोजित कार्यक्रममा भिक्षु संघबाट शील प्रदानका साथै बुद्ध पूजा भई पवित्र कथिन चिवर दानको महाकुशल पुण्यबारे धर्मदेशना गरिएको थियो। धर्मदेशना लगत्तै भिक्षु संघबाट वाचन गरिएको कथिन दानगाथा र अष्टपरिकार दानगाथाको अनुशरण गरी कथिन दाताहरू द्वारा कथिन चिवर र अष्टपरिकार दाताहरू द्वारा अष्टपरिकार दान गरिएको थियो। कार्यक्रमको सुरुमा वर्षावास बस्नुभएका श्रद्धेय भिक्षुहरू सहित श्रद्धालुहरू द्वारा कथिन चिवर सहित श्रीघः परिसरमा परिक्रमा गरिएको थियो। थेरवाद बौद्ध परम्परामा एक महिनासम्म मनाइने पवित्र कथिन चिवर दान गर्दा दाता परिवारहरूलाई यात्रामा कुनै प्रकारको भय, अन्तराय, बाधा, अवरोध नहुने, जस्ता विभिन्न किसिमका आनिसंस फल प्राप्त हुने विश्वास रहेको छ। 
यस कारण श्रद्धालुहरूले वर्षौँ वर्षसम्म आफ्नो पालो कुरेर श्रद्धेय भिक्षुहरूलाई चिवर सहित अष्टपरिकार दान गर्ने परम्परा रहिआएको छ। श्रद्धेय भिक्षुहरूले वर्षावास बसेको विहारमा एकपटक आयोजना गरिने चिवर दान उत्सवलाई नै कथिन चिवर दान उत्सव भनिन्छ।