नवौंदिन टोखा स्थित बुद्धभूमि महाविहारमा कथिन दान सम्पन्न

img

काठमाडौं,
थेरवाद बौद्ध समाजमा आश्विन पूर्णिमादेखि कार्तिक पूर्णिमा सम्म भव्यताका साथ मनाइने कथिन पर्वको उल्लास दिनप्रतिदिन बढ्दै गइरहेको छ। पुष्पगुच्छाद्वारा सजाइएको विहारको प्रवेशद्वार, विभिन्न स्थानीय बाजागाजासहित बुद्ध प्रतिमा, बौद्ध झण्डा र कथिन चिवरसहितको शोभायात्राले यस पर्वलाई अझ उल्लासमय बनाएको छ।
यसै क्रममा कथिन सुरु भएको नवौं दिन टोखा स्थित टोखाभूमि बुद्ध विहारमा श्रद्धेय भिक्षु, अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष सद्धातिस्स महास्थविर र भिक्षु कोलित महास्थविरले तीन महिना सम्म वर्षावास सम्पन्न गर्नुभएको सुखद अवसरमा पवित्र कथिन चिवर दान उत्सवको आयोजना गरिएको हो। विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेय गुरुमाँहरू, तथा श्रद्धालुहरूको सहभागिता रहेको कार्यक्रममा बुद्ध वन्दना, त्रिरत्न वन्दना गरी उपासक(उपासिकाहरू द्वारा ल्याइएको पूजासामग्री पूजास्थलसम्म लगिएको थियो। त्यसपछि भिक्षुसंघबाट शील प्रदानका साथै बुद्ध पूजा भई कथिन दान गर्दा प्राप्त हुने पुण्यबारे देशना (धर्म प्रवचन) गरिएको थियो। धर्मदेशना पश्चात धर्मदेशना दिनु भएका श्रद्धेय भिक्षुलाई धर्मपूजा गरिएको थियो। धर्मपूजा लगत्तै भिक्षुसंघबाट वाचन गरिएको कथिन चिवर दानगाथाको अनुशरण गरी दाताहरू द्वारा कथिन चिवरसँगै अष्टपरिकार दान गरिएको थियो। कथिन दान गर्दा दान दिने र दान लिने दुवै पक्षलाई दानको पुण्य प्रभावबाट महासागरझैँ ठूलो रुपमा आनिसंस प्राप्त हुने विश्वास थेरवाद बौद्ध समाजमा रहिआएको छ। वर्षावास बस्नु भएका श्रद्धेय भिक्षुहरूलाई श्रद्धालुहरू द्वारा अष्टपरिकार दानसहित चिवर दान गर्ने परम्परा पनि रहेको छ। जसमा भिक्षुहरूलाई आवश्यक पर्ने चिवर, भित्री वस्त्र, पात्रो ९थालीरभाँडो०, सियो, धागो, जाली, पत्ति र खाद्यान्न लगायतका सामग्री पर्दछन्।
बुद्ध धर्ममा चित्त शुद्ध गरी दान गर्दा ठूलो पुण्य लाभ हुने विश्वास रहिआएकोले वर्षौंसम्म आफ्नो पालो कुर्दै श्रद्धालुहरूले कथिन चिवर दान गर्ने गर्दछन्। यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको हो। कथिन दान एउटा धार्मिक उत्सव हो, जसले श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँ, उपासक र उपासिकाहरूलाई एकै स्थानमा जम्मा गराउने अवसर प्रदान गर्दछ। त्यसकारण, यो उत्सवको भौतिक पक्षभन्दा पनि आध्यात्मिक पक्ष धेरै महत्वपूर्ण मानिन्छ।