महान पवित्र कथिन चिवर दान उत्सवको नवौं दिन समापन

img

काठमाडौं,

थेरवाद बुद्ध धर्ममा धूमधामका साथ मनाइने महान पवित्र कथिन चिवर दान उत्सवको नवौं दिन समापन भएको छ। यसै क्रममा बुधबार भक्तपुर चाँगुनारायणमा अवस्थित सद्धम्मज्योति बुद्ध विहार ध्यान केन्द्रमा श्रद्धेय भिक्षु तिस्स स्थविरले विनयपूर्वक वर्षावास सम्पन्न गर्नुभएको सुखद उपलक्ष्यमा बुधबार १४ दाताहरू द्वारा कथिन दान उत्सवको आयोजना गरिएको हो।
विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेय गुरुमाँहरू, कथिन दाताहरू सहित श्रद्धालुहरूको सहभागीता रहेको कार्यक्रममा भिक्षु संघबाट शील प्रदानका साथै बुद्ध पूजा भई कथिन चिवर दानको आनिसंस बारे धर्मदेशना भएको थियो। धर्मदेशना लगत्तै भिक्षु संघबाट वाचन गरिएको कथिनदानगाथाको अनुशरण गरी दाताहरू द्वारा कथिन चिवर र अष्टपरिकार दान गरिएको थियो। अन्त्यमा सर्व सत्व प्राणीको पुण्य हेतुकालागि पुण्यानुमोदना दान प्रदान र संघ भोजन गरी कार्यक्रम समापन गरिएको थियो। कथिन चिवर दान गर्न दुर्लभ र धेरै कुरा मिल्नुपर्ने भएकाले कथिन चिवर दानलाई बौद्ध परम्परामा गरिने अष्टमहादानमध्ये पहिलो कुशल दानका रूपमा लिइने गरिएको छ।
कथिन चिवर दान गर्दा सर्व प्राणीमा दया, माया, करुणाको भाव पैदा हुने, भौतिक सम्पत्तिलाई कुशल कर्ममा प्रयोग गरी मृत्युपछि पुण्य जम्मा गर्न सक्ने व्यक्ति हुनेजस्ता आनिसंस फल प्राप्त हुने विश्वास रहेको छ।