थेरवाद बौद्ध परम्पनाअनुसार गरिने पवित्र कथिन उत्सवका कारण नेपाल मण्डल सहित विभिन्न स्थानमा रहेका विहारहरूमा यस पर्वको रौनकता छाएको छ। कथिन चिवर दान हरेक वर्ष तीन महिनाको वर्षावास अधिष्ठान गरी, असार पूर्णिमाको दिन संघ उपोसथ गरेपछि सुरु भई आश्विन पूर्णिमामा विनयपूर्वक सम्पन्न गरिन्छ। संघले पवरणा गरेपछि एक महिनाको अवधिभित्र कुनै पनि एक विहारमा एकपटक मात्र कथिन चिवर दान कार्यक्रम आयोजना गरिन्छ।
यसैक्रममा, स्वयम्भूस्थित आनन्दभुवन विहारका प्रमुख श्रद्धेय भिक्षु शान्त सिद्धार्थ र भिक्षु शान्त शोभनले वर्षावास सम्पन्न गर्नुभएको अवसरमा शुक्रवार कथिन दाताहरू द्वारा शोभायात्रा सहित कथिन चिवर दान उत्सवको आयोजना गरिएको हो। उत्सवको अवसरमा विहारको धम्मकक्षमा ज्ञानमाला भजन खल द्वारा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो भने, भिक्षु संघबाट शील प्रदान एवं बुद्ध पूजा गरिएको थियो। त्यसपछि श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट कथिन दानको महत्वबारे धर्मदेशना दिइएको थियो। कार्यक्रममा विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेया गुरुमांहरू, दाताहरू तथा श्रद्धालुहरूको बाक्लो सहभागिता रहेको थियो। धर्मदेशना लगत्तै भिक्षु संघबाट वाचन गरिएको दान गाथाको अनुसरण गर्दै कथिन चिवर दाताहरू द्वारा भिक्षुहरूलाई कथिन चिवर, तथा अष्टपरिस्कार दाताहरू द्वारा अष्टपरिस्कार दान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सर्वसत्व प्राणीको पुण्य हेतुका लागि पुण्यानुमोदन गर्दै, उपासक–उपासिकाहरू द्वारा श्रद्धेय भिक्षु तथा श्रद्धेया गुरुमांहरूलाई दान प्रदान गरेर कार्यक्रम समापन गरिएको थियो। कार्यक्रमको सुरुमा विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेया गुरुमांहरू तथा श्रद्धालुहरू द्वारा स्थानीय बाजा, बौद्ध झण्डा, र बुद्ध प्रतिमा सहित भव्य रूपमा कथिन चिवर शोभायात्रा निकालिएको थियो। बुद्ध वन्दनाको लय र स्थानीय बाजासहित श्रद्धालुहरूको लावालस्करले नगरमा विशेष किसिमको रौनकता छाएको थियो।