काठमाडौं,
शंखमुलस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको ४०औं वार्षिक उत्सव र महान कथिन चिवर दान उत्सव एकैपटक आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र स्थापना भएको ४० वर्ष पुगेको अवसरमा शनिबार केन्द्रको वार्षिक उत्सव तथा कथिन चिवर दान उत्सव एकैसाथ आयोजना गरिएको हो। श्रद्धेय सयादो ऊ पञ्ञासिरी महास्थविर वर्षावास बस्नु भएको सुखद अवसरमा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र ‘पुचः’ द्वारा भिक्षु महासंघलाई पवित्र कथिन चिवर दान कार्यक्रमको आयोजना गरिएको हो।
शनिबार आयोजित कार्यक्रममा श्रद्धेय भिक्षु नन्द महास्थविरबाट शील प्रदान गरिएको थियो भने श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविरबाट बुद्ध पूजा गरिएको थियो। बुद्ध पूजा लगत्तै श्रद्धेय सयादो ऊ पञ्ञासिरी महास्थविरबाट बर्मी भाषामा कथिन चिवर दानको महत्वबारे धर्मदेशना दिइएको थियो। श्रद्धेय भिक्षुले बर्मी भाषामा दिनुभएको धर्मदेशनालाई श्रद्धेया विमलञानी गुरुमांले नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु धम्मशोभन महास्थविर सहित विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेया गुरुमाहरू तथा श्रद्धालुहरूको उपस्थिति रहेको थियो। धर्मदेशना लगत्तै दाताहरू द्वारा भिक्षु संघलाई कथिन चिवर र अष्टपरिस्कार दान गरिएको थियो। पवित्र कथिन चिवर दानको माध्यमबाट बुद्ध धर्म र शिक्षाको विकाससँगै विश्वमा शान्ति, सद्भाव र समृद्धिको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ। श्रद्धेय भिक्षुहरूले असार पूर्णिमादेखि कोजाग्रत पूर्णिमासम्म एकै विहारमा बसेर ध्यान र ज्ञानको अभ्यास गरेपछि मात्र सो दान प्रदान गर्ने परम्परा रहेकोले, थेरवाद बुद्ध धर्ममा कथिन चिवर दानलाई दुर्लभ प्रकारको दानको रूपमा लिइने गरिएको छ।
त्यस्तै, कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रका सचिव ललिता धाख्वा द्वारा प्रतिवेदन प्रस्तुत गरिएको थियो भने केन्द्रका उपाध्यक्ष मदनरत्न मानन्धर द्वारा धन्यवाद ज्ञापन गरी, दान प्रदान तथा भोजन दानका साथ कार्यक्रम समापन गरिएको थियो।