पवित्र कठिन चिवर दान उत्सव सम्पन्न

img

काठमाडौं,
ललितपुर लुखुँसीस्थित सुमंगल विहारमा शुक्रबार सयौँ श्रद्धालुको उपस्थितिमा भव्य कठिन चिवर शोभायात्रा सहित पवित्र कठिन चिवर दान उत्सव सम्पन्न भएको छ। सो विहारमा नेपाल र थाइल्याण्डका सातजना श्रद्धेय भिक्षुहरूले वर्षावास पूरा गर्नुभएको सुखद अवसरमा श्रद्धेय माखुँसी गुरुमांहित १५ जना दाताहरू द्वारा भिक्षु संघलाई कठिन चिवर सहित अष्टपरिष्कार दान गरिएको हो।
विहारमा संघनायक श्रद्धेय भिक्षु बुद्धघोष महास्थविर, भिक्षु डाक्टर संकिच्च महास्थविर, भिक्षु सागर महास्थविर, भिक्षु पञ्ञारतन महास्थविर, भिक्षु शान्त स्थविर, थाई भिक्षु माई चैया चैयायाङ र भिक्षु सुमन तिस्सले वर्षावास बस्नुभएको अवसरमा शुक्रबार भव्य रूपमा कठिन चिवर दान उत्सवको आयोजना गरिएको हो। विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेय गुरुमाँहरू सहित श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम स्थानिय बाजा, बौद्ध झण्डा, बुद्ध प्रतिमा सहित कठिन चिवर शोभायात्रा गरी सुरु भएको थियो। तत्पश्चात विहारको प्राङ्गणमा त्रिरत्न वन्दना सहित भिक्षु संघबाट शिल प्रदान भई सामूहिक रूपमा बुद्ध पूजा भएको थियो भने श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरबाट कठिन चिवर दानको महत्व र दान गर्दा प्राप्त हुने लाभबारे धर्मदेशना भएको थियो। धर्मदेशना लगत्तै भिक्षु संघबाट कठिन चिवर दान गाथा र अष्टपरिष्कार दान गाथा वाचन भएको थियो भने सोही गाथाको अनुशरण गरी दाताहरू द्वारा भिक्षु संघलाई कठिन चिवर र अष्टपरिष्कार दान गरिएको थियो।
श्रद्धेय भिक्षुहरूको तीन महिनाको वर्षावास सम्पन्नतामा कठिन चिवर दान अडिएको कारण, यो उत्सवको भौतिकभन्दा धार्मिक र आध्यात्मिक पक्ष धेरै महत्वपूर्ण छ। कठिन दान पर्वमा बुद्ध सासनका श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँ, उपासक, उपासिका हरूलाई एक ठाउँमा जम्मा गराउने परम्पराले गर्दा थेरवाद बौद्ध परम्परामा कठिन चिवर दानलाई एउटा महत्वपूर्ण धार्मिक उत्सवको रूपमा लिने गरिएको छ।