निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट हजारौं बिरामीहरू लाभान्वित

img

काठमाडौं,
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट हजारौं बिरामीहरू लाभान्वित भएका छन्। आर्थिक र स्वास्थ्य सेवाको अभावमा बाँचिरहेका समुदायसम्म शिक्षा सहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन भईरहेको शिविरको माध्यमबाट काठमाडौं, भक्तपुर, ललितपुर सहित विभिन्न जिल्लाहरूबाट नेपालमण्डलमा बसोबास गर्दै आएका हजारौं बिरामीहरू लाभान्वित भएका छन्।
हप्तामा एक दिनमात्रै सञ्चालन हुँदै आएको सो शिविर अब गत हप्ताबाट दुई दिन — मंगलबार र शुक्रबार — सञ्चालन हुँदै आएको छ, जसले बिरामीहरूलाई सेवा लिन अझ सहजता प्रदान गरेको छ। शिविरमा विशेषज्ञ डाक्टरहरूद्वारा उच्च रक्तचाप, नाक, कान, घाँटीको चेकजाँच, स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा छालासम्बन्धी विभिन्न प्रकारका रोगहरूको निःशुल्क उपचार सहित स्वास्थ्य परामर्श प्रदान हुँदै आएको कारण शिविरले प्रदान गरेको स्वास्थ्य सेवाप्रति बिरामीहरू खुसी र सन्तुष्ट छन्। यसैगरी फाउण्डेसनले बिरामीहरूमा रगतको अभाव नहोस् भनेर प्रत्येक महिनाको २७ तारिखमा रक्तदान अभियान आयोजना गर्न थालेको छ। संगै, स्वास्थ्य शिविरमा सहभागी बिरामीहरूको सहजताको लागि चेकजाँच पश्चात आवश्यक औषधीहरू फाउण्डेसनको कार्यालयबाटै वितरण गरिने व्यवस्था समेत मिलाइएको छ। बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनको निःशुल्क स्वास्थ्य शिविरले भगवान बुद्धका शिक्षा र फाउण्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरु आमाको सदिच्छाअनुसार सामाजिक न्याय र करुणाका आधारमा जन–जनसम्म स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ।
फाउण्डेसनले सामाजिक परोपकारी कार्यअन्तर्गत शिक्षा सहितको निःशुल्क स्वास्थ्य सेवासँगै मैत्री, करुणा र सद्भाव पनि प्रवाह गर्दै आएको छ। आर्थिक रूपमा पिछडिएका वर्ग र स्वास्थ्य क्षेत्रमा पहुँचविहीन रहेका समुदायका मानिसहरूको जीवनस्तर उकास्नमा सहयोग पुग्ने उद्देश्यले सञ्चालन गरिएको शिविर असोज महिनाको चौथो सातामा ३२ औं हप्तामा प्रवेश गरेको छ।