काठमाडौं,
थेरवाद बुद्ध धर्ममा विशेष महत्व बोकेको पवित्र कथिन चिवर दान उत्सव मंगलबारदेखि सुरु भएको छ। श्रद्धेय भिक्षुहरूको तीन महिनाको वर्षावास सम्पन्न भएपछि गरिने कथिन दानको पहिलो दिन ललितपुरमा रहेको बौद्धजन सुनागुठी विहार, प्रयागपोखरीस्थित अष्टसद्धर्मायतन विहार, भक्तपुरमा अवस्थित बौद्ध समकृत विहार र धरानमा अवस्थित बुद्ध विहारमा वर्षावास बस्नुभएका श्रद्धेय भिक्षुहरूलाई कथिन चिवर दान गरेसँगै यस वर्षको पवित्र कथिन चिवर दान उत्सव सुरु हुने भएको छ।
बौद्धजन सुनागुठी विहारमा अखिल नेपाल भिक्षु महासंघका महासचिव श्रद्धेय भिक्षु धर्मगुप्त महास्थविर वर्षावास बस्नु भएको उपलक्ष्यमा सो विहारमा कथिन चिवर दान उत्सव मनाइएको छ। विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेय गुरुमाँहरू, दाता परिवार सहित श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा दाता परिवारद्वारा कथिन चिवर सहितको नगर परिक्रमा गरी विहारमा विशेष धार्मिक समारोहको आयोजना गरिएको छ। कार्यक्रममा भिक्षु संघबाट त्रिरत्न वन्दना, शील प्रदान, बुद्ध पूजा, धर्मदेशना र अष्टपरिकार दान गरी कथिन चिवर दान गरिएको हो। कथिन चिवर दान गर्दा दाता परिवारहरूलाई यात्रामा कुनै प्रकारको भय, अन्तराय, बाधा, अवरोध नहुने जस्ता विभिन्न किसिमका अनिसंस्य फल प्राप्त हुने विश्वासका कारण श्रद्धालुहरूले बर्षौं बर्ष आफ्नो पालो कुरेर श्रद्धेय भिक्षुहरूलाई चिवर सहित अष्टपरिकार दान गर्ने गर्दछन्।
उपसम्पदा प्राप्त श्रद्धेय भिक्षुहरूले हरेक वर्ष तीन महिनाको वर्षावास अधिष्ठान गरी आषाढ पूर्णिमाको दिन संघ उपोसथ गरेर सुरु भई आश्विन पूर्णिमा सम्म विनयपूर्वक सम्पन्न गरेको दिन संघले पवरणा गरेपछि एक महिनाको अवधिभित्र एउटा विहारमा एकपटक आयोजना गरिने विशेष चिवर दान उत्सवलाई कथिन चिवर दान उत्सव भनिन्छ। यस पटक नेपाल मण्डल लगायत अन्य जिल्लाहरूका करिब ७४ विहारहरूले कथिन दान तालिकामा नाम दर्ता गराइसकेका छन्।